वन्यजन्तुको छालासहित पक्राउ



काठमाडौं, (नेस)।

संरक्षित वन्यजन्तु पाटे बाघको छालासहित ३ जनालाई दाङ, तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सल्यान बनगाड किपण्डे नगरपालिका–२ बस्ने ३७ वर्षीय यमबहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका–१ बस्ने सुरनित रामजा बूढा मगर र सल्यान शारदा नगरपालिका–१ बस्ने रमित सुनार रहेका छन्।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको उक्त ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्