बिदाइ कार्यक्रम सम्पन्न



काठमाडौं, (नेस)।

तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकहरूलाई मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ।

उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा १० बुँदे सांगठनिक प्राथमिकता तय गरी कार्यान्वयनमा ल्याएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत ७ सय ५३ स्थानीय तहसँग सम्झौता गरेको र यस कार्यक्रमलाई राष्ट्रिय योजना आयोगले ‘गेम चेन्जर प्रोजेक्ट’ का रूपमा परिभाषित गरेको, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको, विगत २ वर्षदेखि बेरुजु फस्र्यौटमा गृह प्रशासनअन्तर्गतका कार्यालयहरूमध्ये सर्वोत्कृष्ट ठहर भई पुरस्कृत भएको, १ सय ५८ वटा प्रहरी कार्यालय भवन निर्माण सम्पन्न तथा १ सय २२ निर्माणाधीनलगायतका काम भएको चर्चा गर्नुभयो।

अन्तर्राष्ट्रिय क्षेत्रीय आतंकवाद र संगठित अपराध रोक्न कतारी प्रहरीसँग सम्झौता, विदेश फरार रहेका नेपाली अपराधीलाई इन्टरपोलको सहायतामा फिर्ता ल्याएको उल्लेख गर्दै उहाँले नेपालको शान्ति–सुरक्षाको स्थिति मजबुत हुँदै गएको एक स्वतन्त्र अध्ययन प्रतिवेदनले देखाएको बताउनुभयो।

नेपालमा आयोजना भएका अन्तर्राष्ट्रियस्तरका कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छवि उँचो बनाएको उहाँले उल्लेख गर्नुभयो। अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रहरी संगठनलाई थप नयाँ उचाइ दिनुहुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सेवा निवृत्त हुन लाग्नु भएका वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। प्रहरी महानिरीक्षक खनालको व्यावसायिक इमानदारी, निर्भिकता, नेतृत्व क्षमता र सादा जीवनबारे प्रहरी कर्मचारीहरू स्पष्ट रहेको उल्लेख गर्दै उहाँले प्रहरीको व्यावसायिक जीवनमा उहाँको कार्यशैली र निष्ठा अनुकरणीय रहेको चर्चा गर्नुभयो।

संगठनमा बहाल रहँदा र सेवानिवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको चासोको विषय हुने भएकाले संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहेको बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी महानिरीक्षक खनालको नेतृत्वमा शुरू भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम ज्यादै प्रभावकारी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्