बझाङको मष्टा गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालन



मानबहादुर बोहरा, बझाङ ।

बझाङको मष्टा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । स्थानीयलाई एम्बुलेन्स सेवा दिनका लागि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो । “हामीले एम्बुलेन्स खरिद गरेर ल्याएका छौँ । अब, कार्यविधि बनाएर सञ्चालनमा ल्याउँछौँ, गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले भने, – यहाँका जनताले एम्बुलेन्स सेवा पाएका छैनन् । पाएमा पनि महंगो छ । अब, जनताले सस्तो मूल्यमा गाउँघरबाटै एम्बुलेन्स सेवा पाउँने छन् ।”

गाउँपालिकाका अधिकांस ठाउँमा सडक पुगेको छ । सडक पुगे पनि गाउँपालिका भित्र सुविधा सम्पन्न अस्पताल छैन । जटिल खालका विरामीलाई जिल्ला सदरमुकाम चैनपुर सहित अनेन्त्र रेफर गर्नुपर्ने बाध्यता रहि आएको छ । विरामीलाई सक्दोछिटो अस्पताल पुर्याउनको लागि एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष कठाएतले बताए ।

जम्मा ७ वटा वडा रहेको मष्टा गाउँपालिका भरी ११ वटा स्वास्थ्य संस्था रहेका छन् । साविकका गाविसहरु मष्टा, भातेखोला, रिलु र कोटदेवलमा स्वास्थ्य चौकि रहेका छन् भने अन्य ३ ठाउँमा आधारभुत स्वास्थ्य इकाई संचालनमा आएका छन् । त्यस्तै गाउँपालिका भरीमा ४ वटा प्रसुती गृह रहेको अध्यक्ष कठायतले बताए । गाउँपालिकामा सडक सञ्जाल विस्तार भएसंगै स्थानीयले सुलभ र सहज रुपमा एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्