अस्ताए राणाविरोधी योद्धा



ललितपुर, (नेस)।

राणाशासन विरोधी आन्दोलनका योद्धा एवं समाजसेवी सिद्धिबहादुर खड्गी रहनुभएन। ९३ वर्षको उमेरमा आइतबार राति बल्खुस्थित वयोधा अस्पतालमा उहाँको निधन भएको हो। निमोनियाको उपचार गराउने क्रममा खड्गीको निधन भएको माइला छोरा किरणबहादुर खड्गीले जानकारी दिनुभयो।

१९ दिनअघि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। खड्गीको सोमबार शंखमूलस्थित घाटमा नेवारी परम्पराअनुसार दाहसंस्कार गरियो। उहाँका ज्येष्ठ पुत्र सिद्धिरत्न खड्गीले स्वर्गीय खड्गीको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो। उहाँका तीन छोरा र पाँच छोरी रहेका छन्।

खड्गी १९९७ सालदेखि राणाशासन विरोधी आन्दोनलमा सक्रिय हुनुभएको थियो। २००७ सालमा प्रजातन्त्रको स्थापनादेखि २०४६ सालसम्मको राजनीतिमा खड्गीले महत्वपूर्ण स्थान ओगट्नुभएको थियो। स्वर्गीय खड्गी विसं २०११ जेठ १५ गते तत्कालीन राजा त्रिभुवनद्वारा गठित सल्लाहकार सभाको सदस्य हुनुहुन्थ्यो।

त्यसै गरी २०३८ साल वैशाख २० गते तत्कालीन राजा वीरेन्द्रले स्वर्गीय खड्गीलाई राजसभामा मनोनित गर्नुभएको थियो।स्वर्गीय खड्गीले राजनीतिसँगै शिक्षा, उद्योग र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँकै अगुवाइमा २०३० सालमा खड्गी सेवा समिति गठन गरिएको थियो।

जातीय छुवाछुत, समाजमा हेपिनुपरेको पीडालाई नै आधार बनाएर उहाँले उत्पीडित नेवार समुदायका खड्गीहरूको उत्थानका लागि सो समिति गठन गर्नुभएको थियो।

स्वर्गीय खड्गीको नेवारी परम्पराअनुसार तेस्रो ज्या जंकुको (बुढा पास्नी) अवसरमा पाँच वर्षअघि ललितपुरमा सार्वजनिक अभिनन्दन गरिएको थियो। सो अवसरमा हेमा∙राज गिरीद्वारा लिखित खड्गीको जीवनी र व्यक्तित्व समेटिएको ‘संघर्षशील सिद्धिबहादुर खड्गी’ नामक पुस्तक प्रकाशित गरिएको थियो।

खड्गी व्यक्तित्वमा आधारित वृत्तचित्र पनि बनाइएको छ।‘जातीय विभेदविरुद्ध लड्ने अभिभावक गुमाए’
स्वर्गीय खड्गीको निधनले खड्गीहरूका लागि मात्र नभई जातीय विभेद, उँचनिचको भावनाविरुद्ध आजीवन संघर्षशील व्यक्तित्व गुमाएको नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले बताउनुभयो।

युवापुस्तालाई सामाजिक उत्पीडन, छुवाछुतको भावनाविरुद्ध लड्न समाजसेवी खड्गीको जीवनी सधैं प्रेरणादायी रहने समितिका अध्यक्ष अञ्जिता खड्गीको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्