३ करोड ९५ लाखमा विद्यालय भवन निर्माण



नेपाल समाचारपत्र, काठमाडौं।

भारत सरकारकोे पुनर्निर्माण परियोजनाअन्तर्गत नुवाकोट जिल्लाको किस्पाङ्मा ऐंसेलुभूमे माध्यमिक विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ।

विद्यालय भवनको नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमानको उपस्थित रहेको थियो।

राजदूतावासको पुनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गर्नुभएको थियो।
विसं २०४६ सालमा निर्माण भएको विद्यालयमा ६ सय ३७ विद्यार्थी अध्ययनरत छन्।

भारत सरकारको ३ करोड ९५ लाख ७० हजार अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लक छन्। विद्यालयको तीन तले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा छन्। भवनको दुई तले शैक्षिक भवनमा चारवटा कक्षा कोठाका साथै फर्निचर र छात्रछात्राका लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छ।

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले सो परियोजनाको कार्यान्वयन गरेको हो। नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनालाई सम्पन्न गर्न सरकार र जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्