ककनीका शिक्षकहरू वागीश्वरी माविमा



भक्तपुर, (नेस)।

नुवाकोटको ककनी गाउँपालिकाका शैक्षिक सरोकारवालाहरूले भक्तपुरको वागीश्वरी माविको अध्ययन भ्रमण गरेका छन्।विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा पदाधिकारी तथा शैक्षिक सरोकारवालाका लागि गाउँपालिकाले आयोजना गरेको भ्रमणअन्तर्गत भक्तपुरको नमुना विद्यालय तथा शैक्षिक क्षेत्रको उत्कृष्ट विद्यालयका रूपमा रहेको वागीश्वरी माविको भ्रमण गरेका हुन्।

गाउँपालिकाबाट अवलोकनका लागि आएको टोलीलाई विद्यालयका बारेमा प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले जानकारी दिएका थिए।बाग्मती प्रदेशको नमुना विद्यालय घोषित वागीश्वरी माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा गरेको अभ्यास अवलोकन गर्न आएका ३९ विद्यालयका प्रधानाध्यापक, विव्यसका पदाधिकारीलाई विद्यालयका तर्फबाट स्वागत गर्दै विद्यालयको इतिहास, वर्तमान अवस्था र उत्कृष्ट बनाउन भइरहेको प्रयासबारे जानकारी दिइएको थियो।

स्वागतसँगै विद्यालयमा भएको अन्तरक्रियामा सहभागी विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा विव्यस पदाधिकारीले जिज्ञाशा राखेका थिए। सो क्रममा भवानी माविका प्रअ शंकरप्रसाद लोहनीले विद्यालय सफलताको रहस्यबारे जिज्ञाशा राखेका थिए भने सूर्य आधारभूत विद्यालयका प्रअ वसन्ती ठकुरीले वागीश्वरीबाट धेरै कुरा सिक्न सकिने बताइन्।

उनी विद्यालयको शैक्षिक उपलब्धि, शैक्षिक वातावरण र व्यवस्थापन उदाहरणीय भएको कारण आफू प्रभावित भएको जनाउँदै आफूले पनि आफ्नो विद्यालयमा राम्रो अभ्यास लागू गर्न सक्दो पहल गर्ने बताइन्।
भ्रमण टोलीमा ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईं पनि सहभागी थिए।

उनले शिक्षामा राम्रो गरिरहेका विद्यालयको अध्ययन अवलोकन गराएर विद्यालयको नेतृत्वकर्तालाई उत्साह दिन लागिएको बताउँदै वागीश्वरीका शैक्षिक अभ्यासहरू लोभलाग्दो भएको बताए। उनका अनुसार चितवन, बुटवल, पोखरालगायतका नमुना विद्यालयको पनि भ्रमण गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्