कोरोना भाइरसबाट बच्न जनचेतना



 काठमाडौंं, (नेस)।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सबै विद्यालयलाई नोबेल कोरोना भाइरसको प्रकोपबाट सजग रहन आग्रह गरेको छ। शाखाले देशैभरका विद्यालयलाई सो भाइसरबाट सजग हुन पत्राचार गरेको छ।

सन् २०१९ को मध्य डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको राजधानी शहर वुहानबाट फैलिएको कोरोना भाइसरसका बारेमा आफ्नो विद्यालय तथा समुदाय वरिपरि सतर्कतापूर्वक जोगिनका लागि आग्रह गरेको हो।

शाखाले यसबारेमा जानकारी लिन, उचित सन्देश प्रवाह गर्न आवश्यक सावधानी अपनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा सम्बद्ध सबैमा अनुरोध गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ।

कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ।चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारको हो।जुन पहिले मानिसमा पहिचान भएको थिएन।डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ।नोबेल कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन। लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन्।

विभागले जारी गरेको परिपत्रमा भाइरसबाट जोगिन कम्तीमा २० सेकेन्डसम्म साबुन पानीले हात धुन, रोकथामका लागि मास्क प्रयोग गर्न, रुघाखोकी लागेका व्यक्तिको नजिक नजान, आफू बिरामी भएको बेला घरमै बस्न, जंगली तथा घरेलु पशुपन्छीबाट सुरक्षित रहन, मासु र अन्डा राम्रोसँग पाकेको खान, सार्वजनिक स्थल, अस्पताल सिनेमा घर, सार्वजनिक यातायात, सपिङमलजस्ता भीडभाड हुने स्थानमा सकभर नजान आग्रह गरेको छ।

विद्यालय शिक्षा तथा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै विद्यार्थीलाई सचेत रहन सबै निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्