काय्गुननिमा कलात्मक मंका छेँ



ललितपुर, (नेस)।

ललितपुर महानगरपालिका– १६ काय्गुननिस्थित मंकाः छेँको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
डेढ वर्ष लगाएर सो मंका छेँको पुनर्निर्माण भएको हो। दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको सो भवन साढे दुई तल्लाको रहेको छ।

भवनको पुनर्निर्माणमा करिब ७० लाख रुपियाँ खर्च भएको मंका खलःले जनाएको छ। कुल लागतमध्ये ललितपुर महानगरपालिकाबाट २८ लाख ५० हजार रुपियाँ, १६ वडाबाट २५ लाख, ललितपुर क्षेत्र–२ का संघीय सांसद कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपियाँ व्यहोरिएको थियो। बाँकी रकम विभिन्न दाता, संघ–संस्थाबाट जुटाइएको खलःका कोषाध्यक्ष हरिगोविन्द महर्जनले जानकारी दिनुभयो।

पाटनमा नेवाः समुदायभित्र ज्यापूहरूको बाहुल्यता रहेका ४० परम्परागत टोलमध्ये काय्गुननि एक हो। मंका खलः कुनै लिखित विधि विधानभन्दा पनि सामाजिक मूल्य, मान्यता र व्यवहारद्वारा सञ्चालन हुने परम्परागत संगठन हो।

धिमे, बाँसुरीलगायत परम्परागत बाजाको प्रशिक्षण, नामसंगीति पाठ, दाफा भजन गर्ने, विभिन्न पूजाआजा र जात्रा पर्व सञ्चालनका लागि मंका छेँको प्रयोग गर्ने गरिन्छ। भवनको पुनर्निर्माणले अमूर्त संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको मंकाः खलका अध्यक्ष समतलाल महर्जनले बताउनुभयो।

सो मंका छेँको १९२ वर्षअघि (नेपाल संवत् ९४८)  मा निर्माण शुरू गरिएको थियो। त्यसको ६ वर्षपछि निर्माण कार्य पुरा भएको त्यहाँ रहेको दुई वटा शिलापत्रमा उल्लेख गरिएको खलका सदस्य रविन महर्जनले जानकारी दिनुभयो।
मंकाः छेँको उद्घाटन

मंकाछेँको हालै एक समारोहका बीच महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गर्नु हुँदै मंका छेँको पुनर्निर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो। सो अवसरमा १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले मंका छेँको पुनर्निर्माणबाट भाषा, संस्कृति र कलाको संरक्षणमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

सो समारोहमा १६ वडाका सदस्य एवं खलका सदस्य विजय महर्जनले अमूर्त संस्कृति संरक्षणलाई संघ, प्रदेश र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउँदै क्षतिग्रस्त सम्पदा, विहार र मंकाः छेँको पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभयो। सो अवसरमा काय्गुननिको इतिहास र परिचय समेटिएको स्मारिका विमोचन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्