विराटनगरमा कृषि,औद्योगिक तथा ब्यापार एक्स्पोको तयारी सुरु



सरोज यादव, विराटनगर ।

विराटनगरमा फागुन २ गतेदेखि आयोजना हुने कृषि,औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को तयारी सुरू भएको छ ।
विराटनगर—२ स्थित शंकरपुरमा आयोजना हुने ब्यापार मेलामा स्टल निर्माण, सडक कालोपत्रे लगायतका काम सुरू भएको छ । मेलामा ट्रष्टसहितको अत्याधुनिक प्रविधियुक्त स्टल निर्माण गरिएको छ ।

मेला मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले मेलालाई भव्यता दिन तयारी तिब्र पारिएको जानकारी दिनुभयो । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

मेलामा सहभागि हुन व्यवसायीहले विशेष रुचि राखेका कारण अधिकांश स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापक समितिका संयोजक विपिन कावराले जानकारी दिनुभयो ।

विगतमा भन्दा एक्स्पोलाई भव्यता दिन लागिएको उहाँले जानकारी दिनुभयो । मेलामा हेलिकोप्टर चार्टडको पनि व्यवस्था गरिएको छ । त्यस्तै राष्ट्रिय स्तरका कलाकारको सांगितिक प्रस्तुतीलगायतका विभिन्न आकर्षणहरू पनि समावेश गरिएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो ।

नोवेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुने छ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर लाइट र सिसि क्यामाराको व्यवस्था गरिएको छ ।

मेलाका लागि विराटनगर महानगरपालिकाको सहयोगमा सडक मर्मत तथा कालोपत्रेको काम पनि तिब्र पारिएको छ । मेला आयोजना गर्न २ करोड २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

मेलामा दैनिक उपभोग्य बस्तुहरू, कृषिजन्य उत्पादनहरू, लत्ताकपडा तथा मनोरञ्जनका सामाग्री, खानाका स्टलहरू प्रदर्शनीका लागि राखिने छ ।

प्रतिक्रिया दिनुहोस्