पत्रकार पदम श्रेष्ठका कृति र संघर्षले भावी पुस्तालाई प्रेरणा दिनेस्मृतिग्रन्थ सार्वजनिक, पत्रकारिता र संस्कृति संरक्षणमा योगदानको चर्चा


काठमाडौं ।

दिवंगत पत्रकार पदम श्रेष्ठको व्यक्तित्व, कृतित्व, संघर्ष र नेपाली पत्रकारिता तथा संस्कृति–सम्पदा संरक्षणमा उहाँले पु¥याउनुभएको योगदान समेटिएको ‘स्व.पदम श्रेष्ठ स्मृतिग्रन्थ’ उहाको जन्मदिनको अवसरमा पारि घटस्थापनाका दिन एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।
श्रेष्ठको ५८ औं जन्मदिनको अवसर पारेर घटस्थापनाका दिन आइतबार काठमाडौंको टेकुस्थित पचली भैरवमा रहेको नेपाली लोकबाजा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो । स्व. पदम श्रेष्ठ स्मृतिग्रन्थ प्रकाशन समूहले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले श्रेष्ठका कृति, विचार र सामाजिक योगदानले उहाँलाई भावी पुस्तासम्म जीवित राख्ने बताउनुभयो ।


कार्यक्रममा स्व.श्रेष्ठकी आमा राधा देबी श्रेष्ठले आफुले सन्तान गुमाएर चिन्तामा डुबेको अवस्थामा मेरो छोराको भौतिक शरिर नरहेपनि यति धेरै कृति कमाएको रहेछ । साथीभाई, शुभचिन्तक कमाएको रहेछ भन्दै भावुक बन्नुभयो । सोही अवसरमा पत्रकार एवं घोस्ट राइटिङ नेपालका संस्थापक कमल ढकालले श्रेष्ठलाई वास्तविक रूपमा बुझ्न उहाँका लेखन र कृतिको अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँ असल रिपोर्टर हुनुहुन्थ्यो भन्दै ढकालले समाचार लेख्ने भाषा, शैली, विषयवस्तुमाथिको पकड र विचार प्रस्तुत गर्ने क्षमता उहाँका विशेषता रहेको उल्लेख गर्नुभयो ।

विशेषगरी संस्कृति र सम्पदासम्बन्धी विषयमा गहिरो रुचि राख्ने श्रेष्ठले काठमाडौं तथा नेवार समुदायको इतिहास, संस्कृति र सम्पदालाई लेखनमार्फत समाजसामु प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान पु¥याउनुभएको ढकालको भनाइ थियो । उहाँ निडर, साहसी र अन्यायविरुद्ध स्पष्ट रूपमा आवाज उठाउने स्वभावको हुनुहुन्थ्यो । उहाँका पुस्तक तथा लेखनले देशभित्र मात्र नभई दार्जिलिङ लगायत विदेशमा रहेका नेपाली समुदायसँग समेत सम्बन्ध विस्तार गर्न सहयोग पु¥याएको ढकालले स्मरण गर्नुभयो ।

श्रेष्ठले एकै दिनमा पाँचवटासम्म पुस्तक सार्वजनिक गर्नुभएको प्रसंग उल्लेख गर्दै ढकालले उहाँको सिर्जनशीलता, लेखनप्रतिको लगाव र निरन्तर परिश्रमबाट नयाँ पुस्ताले प्रेरणा लिन सक्ने बताउनुभयो । मानिसको जीवन कति लामो भयो भन्नेभन्दा उसले समाजका लागि के योगदान ग¥यो भन्ने कुरा महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले श्रेष्ठका कृति र विचारले उहाँलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा ८४ वर्षीय ज्येष्ठ पत्रकार प्रेमनाथ जोशीले श्रेष्ठको संघर्ष पत्रकारिताका लागि उदाहरणीय रहेको बताउनुभयो ।पत्रकारिता आफैँमा संघर्षपूर्ण पेसा भएको उल्लेख गर्दै उहाँले पत्रकारले जीवनको लामो समय समाज र देशका लागि समर्पण गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले जीवनभर लेखन, पुस्तक प्रकाशन र संस्कृति–सम्पदाको अभिलेखीकरणमा योगदान पु¥याउनुभएको उल्लेख गर्दै उहाँका पुस्तक समाजका लागि अमूल्य सम्पत्ति भएको जोशीको भनाइ थियो ।

श्रेष्ठले काठमाडौं र नेवार समुदायको इतिहास, संस्कृति तथा सम्पदालाई पुस्तकमार्फत अभिलेखबद्ध गर्नुभएको योगदानको संरक्षण र अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँको जीवनबाट नयाँ पुस्ताका पत्रकारले संघर्ष, लगनशीलता र सामाजिक उत्तरदायित्वको पाठ सिक्न सक्ने पनि जोशीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा पत्रकार कुमार रञ्जित, श्रेष्ठकी धर्मपत्नी शिवा तामाङ, सम्पादकमध्येका शम्भु श्रेष्ठ तथा रसिला तामाङले पनि मन्तव्य राख्नुभएको थियो । नेपाली लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सूचक प्रकाशनका दीपक भेटवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले गर्नुभएको थियो ।

श्रेष्ठकी माता सीतादेवी श्रेष्ठ, धर्मपत्नी शिवा तामाङ लगायत परिवारका सदस्य, पत्रकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहेको कार्यक्रममा प्रारम्भमा एक मिनेट मौनधारण गरिएको थियो।

श्रेष्ठको जीवनयात्रा, व्यक्तित्व, सामाजिक सम्बन्ध, संघर्ष र सिर्जनात्मक योगदान समेटिएको स्मृतिग्रन्थमा उहाँलाई नजिकबाट चिन्ने व्यक्तिहरूका तर्फबाट ५४ वटा र परिवारका तर्फबाट १४ वटा लेख, संस्मरण र श्रद्धाञ्जली समावेश गरिएको २८४ पेजको पुस्तक प्रकाशित गरिएको छ ।

स्मृतिग्रन्थ प्रकाशनमा सहयोग गर्ने पाथीभरा प्रतिकृति मन्दिरका कोषाध्यक्ष पूजन बस्नेत, बेखराम बलामी, बरिष्ठ अधिवक्ता राजु खड्का, पत्रकार भगवती तिमल्सिना, कमल ढकाल, विजय महर्जन लगायत सहयोगी तथा शुभेच्छुकप्रति प्रकाशन समूहले आभार व्यक्त गरेको छ । सोही अवसरमा पत्रकार कुमार रन्जित पदमजीकी धर्मपत्नी शिवा तामाङ, सम्पादक द्वयमध्य शम्भु श्रेष्ठ र रसिला तामाङले बुक प्रकाशनको भूमिका र सहयोगीहरुको साथ र सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरि सूचक प्रकाशनका अध्यक्ष दीपक भेटवाल लगायतले पदम श्रेष्ठको योगदान माथी प्रकाश पार्नुभएको थियो ।

वक्ताहरूले श्रेष्ठका कृति र योगदानको अध्ययन, संरक्षण तथा भावी पुस्तासम्म हस्तान्तरण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।