मृत्युदण्डको घातक इन्जेक्शनपछि ‘चमत्कार’, क्रिस्टा होसमा आएर बोल्न थालिन्


काठमाडौँ।

अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड कार्यान्वयनका क्रममा घातक इन्जेक्शन दिइएकी एक कैदी त्यसबाट बाँच्न सफल भएकी छन्। मृत्युदण्डका लागि दुई पटक घातक औषधि दिइए पनि असफल भएपछि अस्पताल भर्ना गरिएकी ५० वर्षीया क्रिस्टा पाइक अहिले होसमा आएकी र कुराकानी गर्न थालेकी उनका वकिलले बताएका छन्।

पाइकलाई हाल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ। उनलाई हतकडी लगाइएको अवस्थामा उपचार गराइरहेको जनाइएको छ।

पाइकलाई सन् १९९६ मा १९ वर्षीया कोलीन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो। गत बुधवार उक्त सजाय कार्यान्वयन गर्ने क्रममा उनलाई दुई पटक घातक इन्जेक्शन दिइएको थियो। तर दुवै प्रयास सफल हुन सकेनन्।

घातक औषधि दिइएपछि पनि पाइक जीवितै रहेको पुष्टि भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले उनको शरीरमा रहेका घातक रसायन हटाउने उपचार गरेका थिए।

पाइकको स्वास्थ्यमा आएको सुधारलाई उनका कानुनी टोली तथा विज्ञहरूले असाधारण घटना भएको बताएका छन्। अहिलेसम्म घातक इन्जेक्शनमार्फत मृत्युदण्ड दिने क्रममा त्यसबाट बाँच्न सफल भएको यो निकै दुर्लभ घटना भएको बताइएको छ।

पाइककी वकिलले उनको स्वास्थ्यमा आएको सुधारलाई ‘चिकित्सकीय रूपमा अभूतपूर्व’ भनेकी छन्। यद्यपि उनको स्वास्थ्य अवस्था आगामी दिनमा कस्तो रहने भन्ने अझै स्पष्ट भइसकेको छैन। तर चिकित्सक तथा कानुनी टोलीले उनको लामो समयसम्म स्वास्थ्यलाभ हुने अपेक्षा गरेका छन्।

फोर्डहम ल स्कूलकी अपराधशास्त्री तथा प्राध्यापक डेबरा डेन्नोले पाइक होसमा आएर बोल्न सक्ने अवस्थामा पुगेको खबरले आफू निकै आश्चर्यचकित भएको बताएकी छन्।

के भएको थियो?
पाइक १८ वर्षकी हुँदा उनका तत्कालीन प्रेमी ट्याडारिल शिपसँग मिलेर १९ वर्षीया कोलीन स्लेमरमाथि कुटपिट तथा यातना दिई हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्।

गत बुधवार पाइकलाई मृत्युदण्ड दिने तयारी भइरहेका बेला अन्तिम समयसम्म कानुनी लडाइँ चलेको थियो। अमेरिकी सर्वोच्च अदालतले अन्ततः घातक इन्जेक्शनमार्फत मृत्युदण्ड कार्यान्वयन गर्न बाटो खुला गरिदिएको थियो।

मृत्युदण्डको साक्षी बन्न टेनेसी पुगेकी मृतक स्लेमरकी आमा मे मार्टिनेजले प्रयास असफल भएपछि घटनालाई निकै अव्यवस्थित भएको प्रतिक्रिया दिएकी थिइन्।

पाइकका वकिल र्‍यान्डी स्पाइभीका अनुसार दोस्रो पटक घातक औषधि दिइएको केही मिनेटपछि पनि पाइकले सास फेरिरहेको स्पष्ट भएपछि घटनाका साक्षीहरूलाई पर्दापछाडिको अँध्यारो कोठामा लगिएको थियो।

यता, टेनेसीको डिपार्टमेन्ट अफ करेक्शनले भने मृत्युदण्ड कार्यान्वयनका क्रममा आफूहरूले राज्यले तोकेको कानुनी प्रक्रिया र निर्धारित प्रोटोकल पालना गरेको दाबी गरेको छ।

अदालतमा पाइकका वकिलहरूले पेस गरेको विवरणअनुसार पहिलो प्रयास असफल भएपछि उनलाई राज्यको प्रोटोकलअनुसार ‘पेन्टोबार्बिटल’ नामक घातक औषधिको दुई मात्रा दिइएको थियो। तर त्यसपछि पनि पाइकको मृत्यु नभएपछि उनलाई अस्पताल लगिएको थियो।-बीबीसीबाट