आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ।

देशका विभिन्न प्रदेशमा आज वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभागका अनुसार दिउँसो र राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि सामान्यतया बादल लाग्नेछ। ती प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ।

मधेससहित कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा देशका अन्य तराई भूभागमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा बादल लाग्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र कर्णालीका पहाडी भूभागमा पनि सामान्यतया बदली रहनेछ।

राति कोसी, वाग्मती र गण्डकीका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। तराईका विभिन्न स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

हाल कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। अन्य प्रदेशमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको विभागले जनाएको छ।