बूढीगण्डकी बाढीप्रति संसदीय समितिको चिन्ता, उद्धार तीव्र बनाउन आग्रह


काठमाडौँ ।

गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट भएको क्षतिप्रति संसदीय विशेष समितिले चिन्ता व्यक्त गरेको छ।समितिका सभापति गणेश पराजुलीद्वारा जारी विज्ञप्तिमा प्रभावितको खोज तथा उद्धार तीव्र बनाउन र पीडितलाई सुरक्षित आश्रय, खाद्यान्न, खानेपानी तथा औषधोपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।

समितिले क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार र खानेपानी सेवा तत्काल पुनः सञ्चालन गर्न तथा बाढीको कारण र जलवायु परिवर्तनसँगको सम्बन्धबारे वैज्ञानिक अध्ययन गर्न पनि जोड दिएको छ।साथै, नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन, आधिकारिक सूचनाको पालना गर्न र अपुष्ट सूचना नफैलाउन समितिले अनुरोध गरेको छ।