निफ्राको आठौँ साधारण सभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित


काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी, शेयरधनी तथा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले बैंकले समीक्षा अवधिमा हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका योजना तथा लक्ष्य र भावी रणनीतिबारे जानकारी गराएका थिए।

सभामा शेयरधनीहरूले लगानीकर्ताको प्रतिफल वृद्धि, संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिएका थिए। उनीहरूले निफ्रालाई सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्न बैंकले आगामी दिनमा व्यवसाय विस्तार तथा कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउनुपर्ने सुझाव दिएका थिए।

बिहान ९ बजे सुरु भएको सभा करिब मध्याह्न १२ बजे सम्पन्न भएको बैंकले जनाएको छ।