तस्वीरको तिर्सना



नेकपा केन्द्रीय समितिको बैठकमा तस्वीर र सुरक्षाकर्मीको उपस्थिति स्वाभाविक छ। प्रधानमन्त्री र मन्त्रीहरू अगाडि कुर्सीमा बस्ने र पछाडि सुरक्षाकर्मी सतर्कताका साथ उभिने जुन चलन छ, त्यो धरहरालाई यस कारण मनपर्छ कि– तस्वीर खिच्दा राम्रो आउँछ।

दौरा–सुरुवाल वा कम्तीमा टोपी लगाएका मन्त्री र पछाडि खाकी पहिरनका सुरक्षाकर्मी, अगाडि बसेका पछाडि उभिएका, अगाडिकाले बोल्ने पछाडिकाले हेर्ने। कस्तो राम्रो विरोधाभासपूर्ण शैली !

बैठकमा अर्को रमाइलो पनि देख्न पाइन्छ, त्यो पनि तस्वीरकै। पहिला माक्र्स र लेनिनको तस्वीर राखेर कार्यक्रम गर्नेगरिएकोमा यस पटकदेखि अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर राख्न थालियो भनेर दुवै पूर्वहरू प्रसन्न छन्– पूर्वएमाले र पूर्वमाओवादी केन्द्र।

यी दुवै पूर्वलाई थाहा छ, हिजो सत्तामा जानका लागि भर्याङ बनाइएका कार्लमाक्र्स र भ्लादिमिर लेनिन अब भूत भइसके। १८८३ मा परमधाम गइसकेका माक्र्स भूत भएनन् भनेर मान्ने हो भने पितृ त अवश्य नै भएभए।

१९२४ मा सिलटिम्बुर खाइसकेका लेनिनको पनि कुरो त्यही हो। त्यस्ता भूत भइसकेका नेतालाई शिरमा राख्नुको साटो आफ्नै जीवित ओली र प्रचण्डको फोटो राख्दा क्या स्वाभाविक लाग्यो। बैठकमा सहभागीले अगाडि सजीव नेता हेर्ने कि पछाडि चित्रको स्वाद लिने– कार्यकर्तालाई विकल्प पनि मिल्यो !

 

प्रतिक्रिया दिनुहोस्