राजेशपायल अव्यक्त प्रेममा हुरुक्कै



भर्सटाइल गायक राजेशपायल राईले शनिबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सेवान्ने नामक अडियो एल्बममा संगृहित हुरुक्कै भएँ म बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

नजिकिँदै गएको प्रेमदिवसलाई केन्द्रित गरी तयार पारिएको गीतको म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। म्युजिक भिडियोमा दयाहाङ राई र एलिसा राईले अभिनय गरेका छन्। भिडियोमा एलिसा र दयाहाङ राईबीच अभिव्यक्त नगरिएको प्रेम देखाइएको छ।

दयाहाङ चित्रकारका रूपमा देखिएका छन् भने एलिसा शिक्षिका। भिडियोमा दया बोल्न सक्दैनन् भन्ने भिडियोको अन्त्यमा मात्रै उनकी प्रेमिकाले थाहा पाउँछिन्। राजन मुकारुङले लेखेको शब्दलाई उनीहरूको अभिनयले न्याय गरेको छ।

गीतमा दिनेशकाजी वान्तवाको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको छ भने भूपेन्द्रको छायांकन, अनिल रानाको सम्पादन र किरण चामलिङ राईको निर्देशन रहेको छ। ‘गीतमा आवाजविहीनहरूको आवाज दर्साइएको छ।

हरेक मान्छेले माया गर्छ र गर्न पाउने अधिकार पनि छ, आवाज भएका व्यक्तिले शब्दको प्रयोगद्वारा आप्mनो प्रेम दर्साउँछन्। तर शब्दविहीनको आवाज लुकेको हुन्छ र यस गीतमा पनि एउटा आवजविहीनले आप्mनो माया चित्रमा बोलेर बताएको देखिएको छ।’ –गायक राजेशपायल राईले भने।

संगीतकार दिनेश वान्तवाले लामो अन्तरालपछि काम गरे पनि यो काम आफूलाई मन परेको बताए। हाट जाने अघिल्लो रात नामक कविता संग्रहबाट लिइएको यस गीतमा राई भाषाको चार शब्द सेवा, सेवाने, सिम्मो र हुद हुड म्मा प्रयोग गरिएको छ।

सेवा भनेको नमस्कार, सेवाने भनेको नमस्कार हजुर, सिम्मो भनेको ठूली हो भने हुद हुड म्मा भनेको हृदयदेखि नै भन्ने बुझिन्छ।म्युजिक भिडियो गायक राईको दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

तस्वीर : रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्