काठमाडौँ ।
कोरोनाको भाइरसले आक्रान्त चीनमा बर्डफ्लुको प्रकोप फैलिएको छ । हुबेइ प्रान्तको दक्षिणतिर पर्ने हुनान प्रान्तमा चीनमा एचफाइभएनवान भाइरसको संक्रमणबाट हुने बर्डफ्लुको प्रकोप फैलिएको हो ।
बर्डफ्लुको प्रकोपबाट हुनानको सआङचिङ जिल्लाको सोङयाङ सहरका कुखुरा फार्ममा रहेका ७ हजार ८ सय ५० कुखुरा रहेकोमा ४५ सय कुखुरा मरेका छन् । स्थानीय अधिकारीहरुले प्रकोप फैलिएपछि १७ हजार ८ सय २८ कुखुराका चल्लालाई नष्ट गरिएको चिनियाँ कृषि तथा ग्रामीण मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बर्डफ्लु सन् १९९६ मा पहिलो पटक पहिचान भएको थियो । यसले चराहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या गराउने र चराहरुबाट मानिसमा सर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार बर्डफ्लु चराबाट मानिसमा सर्ने तर मानिसबाट मानिसमा सर्ने सम्भावना कम हुन्छ । तर अहिलेसम्म बर्ड फ्लुको संक्रमण मानिसमा भेटिएको छैन।
कोरोनाको संक्रमणविरुद्ध संघर्ष गरिरहेको चीनमा फेरि बर्डफ्लुको संक्रमण फैलिँदा थप समस्या उत्पन्न भएको छ । कोरोनाका कारण चीनमा तीन सयभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढीमा संक्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी











प्रतिक्रिया