हिटलरका लागि खाना चाख्ने महिला अझै जीवित



लन्डन, (एजेन्सी)।

जर्मनीका नाजी नेता एडोल्फ हिटलरले खाना खानुअघि त्यसमा विष मिसाइएको छ वा छैन भनी परीक्षण गर्ने गरेकी ९५ वर्षीया मार्गोट वोएल्कले उनले फलफूल र ताजा सागसब्जी मात्र खाने गरेको स्मरण गरेकी छिन्।वाएल्कले तानाशाह हिटलरका लागि साढे दुई वर्षसम्म यो सेवा गरेकी थिइन्।

दोस्रो विश्वयुद्धताका जर्मन नागरिक रहेकी उनका पति युद्धमा गएका थिए। उनलाई भने हिटलरका सेनाले अहिलेको पोल्यान्डस्थित पूर्वी मोर्चाको मुख्यालयमा लगेको थियो।सो मुख्यालय त्यतिबेला ‘वुल्फस लेयर’ को नामले पनि चिनिन्थ्यो। उनले त्यहाँ अन्य करिब एक दर्जन महिला संलग्न टोलीमा बसेर हिटलरलाई विषाक्त खानाबाट जोगाउने काम गर्न थालिन्।

उनी भन्छिन्– ‘बिहान ११ देखि १२ बजेबीच हामी सबैले ती खानाको स्वाद लिएपछि बल्ल तिनलाई सेनाले मुख्यालयमा लाने गर्थे। खाना सबै शाकाहारी नै हुने गर्थे र भात र सलादसँग केराउ, सलगम आदि हुन्थे। ती खानाहरू एउटै प्लेटमा सजाएर राखिएका हुन्थे।

हिटलरका सामू त्यही प्लेट राखिने गरिन्थ्यो। त्यहाँ मासु हुँदैन थियो। त्यस प्लेटमा कहिल्यै माछा राखिएको पनि मलाई यादै भएन। मलाई डर भने पक्कै लाग्थ्यो। यदि ती खानामा कसैले विष राखिदिएको भए आज म यहाँ हुने थिइनँ। हामीलाई जवर्जस्ती खाना खुवाइन्थ्यो। अरु कुनै उपाय नै थिएनन्।’

हिटलरको शाकाहारी भोजनप्रतिको मोहले नाजीवद आर्यन देह शुद्धि प्रति ढल्किएको प्रतिबिम्वित हुन्छ। तीसको दशकदेखि हिटलर युवा निर्देशिका पुस्तिकाले भटमासलाई प्रवद्र्धन गर्ने क्रममा त्यसलाई‘नाजी विन्स’ को संज्ञा दिइएको थियो। भटमास मासुको विकल्पका रुपमा प्रयोग गरेको देखिन्छ। सन् १९४२ मा हिटलरले युद्ध जितेपछि आफूले जर्मनीलाई शाकाहारीवादमा परिणत गर्न चाहेको जोसेफ गोयवल्सलाई बताएका थिए।

तर उनले मासुको सुरुवालाई ‘लाशको चिया’ बताउने गरे तापनि मासुलाई चर्कैं रुपमा विरोध गरेको भने पाइएको छैन। दोस्रो विश्वयुद्ध शुरु हुनुअघि हिटलरका भान्छे रहेकी डियोन लुकासले हिटलर मसला भरिएको परेवा, वाभारियन ससेज र कहिलेकाहीं ह्याम स्लाइस खान रुचाउने गरेको बताउँछिन्।

हिटलरले खाने ठाउँमा टेबुल मिलाउने सम्म पनि अहिले गहन अध्ययन गरिएको छ। एकजना जर्मन सैनिकले गोप्य डायरीमा यस्तो लेखेका छन्–
‘हिटलरले यन्वत रुपमा छिटोछिटो खाना खाने गर्दछन्। उनले चालै नपाई एकसुरले आफ्नो नङ टोक्ने गर्छन्। उनले आफ्नो चोर औंला नाकमा घुसाउने र निकाल्ने गरिरहन्छन्। टेबुलमा बसेर खाना खाने उनको शैली राम्रो छैन।’

सन् १९४१ देखि १९४४ को नोभेम्बरबीच हिटलरले वुल्फस लेयरमा ८ सय दिन बिताएका थिए। रुसी फौज नजिकिँदै गरेको खबर पाएपछि उनी त्यहाँबाट अन्तै हिँडेका थिए। हिटलरको खाना चाख्ने टोलीको वोएल्क एक मात्र जीवित सदस्य हुनुपर्ने विश्वास गरिएको छ।

सो सैनिक मुख्यालयमा रुसी फौजले कब्जा गर्नु केही समयअघि मात्र एकजना दयालु सैनिकले उनलाई वर्लिन फर्कन मद्दत गरेका थिए। उनले पुरानो कुरा सम्झिन्छिन्– ‘ती सैनिकले मलाई गायवल्सको ट्रेनमा चढाइदिए। गन्तव्यमा पुगेपछि म ओर्लें।’ उनको ेटोलीमा रहेका अन्य महिलालाई रुसी फौजले गोली हानेर मारेको हुनुपर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्