मुंग्रो प्रहार गरी कार लुट्नेलाई सजाय

0
Shares

लन्डन, (एजेन्सी)।

कार चोर्ने क्रममा एकजना महिलाको टाउकोमा आक्रमण गरी उनलाई आंशिक रुपमा अन्धो बनाइदिने एक युवकलाई बेलायतमा नौ वर्ष लामो कारवास सँजाय तोकिएको छ।

गत वर्षको मार्चमा बर्मिंघमको सेल्डनस्थित कवेन्ट्रि रोडमा ब्लाइथ म्यासन बोयल नामक युवतीको अगाडि एक कार जबर्जस्ती लुट्ने क्रममा अठार वर्षीय माजिद अलिले उनको टाउकोमा पटक–पटक मुंग्रो प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

प्रहरीले यस निर्मम आक्रमणमा २४ वर्षीया बोयलको दृश्यशक्ति सदाका लागि आंशिक रुपमा क्षतिग्रस्त भएको बताएका छन्। जिमबाट फर्कंदै गरेकी उनको अनुहारमा चोट लाग्नुका साथै एउटा आँखाको प्वालको हड्डी भाँचिएको थियो। अलिलाई बिहीबार क्राउन कोर्टले सँजाय सुनाएलगत्तै वेस्ट मडल्यान्डस प्रहरीले उनको घाइते अवस्थाका तस्वीरहरू सार्वजनिक गरेको थियो।

प्रहरीका अनुसार अलिले आफ्नो अपराधका लागि अदालतमा अलिकति पनि आत्मग्लानी गरेको छैन। प्रहरी गुप्तचरले घटना घटेको २४ घण्टाभित्रै चोरिएको कार र अलीलाई पत्ता लगाउन सफल भएको थियो।

अलीको घरको सोफामुनि लुकाइएको अवस्थामा अपराधमा प्रयोग गरिएको मुंग्रो फेला परेको थियो। बर्मिंघमको स्पार्कहिलको माउन्टफोर्ड स्ट्रिट निवासी अलीले भने आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेको थियो।