लन्डन, (एजेन्सी)
बेलायतको राजधानी लन्डनको बिगबेनले स्थानीय समयअनुसार शुक्रबारको रातको ११ बजेको जनाउ दिएलगत्तै बेलायत ४७ वर्ष पछि औपचारिक रुपमा युरोपेली संघ (ईयू) बाट अलग्गिएको छ। युरोपेली संघबाट छुटिने विषयमा तीन वर्षअघि जनमत संग्रह भएको हो। यस ऐतिहासिक निर्णयको स्वागत गर्ने र विरोध प्रदर्शन गर्ने दुवै थरिका बेलायती जनता देखिएका छन्।
बेलायतको नयाँ परिदृश्यमा प्रवेश गर्नु अगाडि एक सन्देश जारी गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशलाई एकताबद्ध गर्दै अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन्।युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिनु एक घण्टाअघि मात्र सामाजिक सञ्जालमा उक्त सन्देश सार्वजनिक गरेका हुन्।
उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्– ‘यो क्षण कहिल्यै आउँदैन भनेर सोच्ने धेरै व्यक्तिका लागि यो निकै आश्चर्यजनक क्षण हो। तिनीहरू यस निर्णयका कारण त्रसित छन् र तिनीहरूले आफूहरूलाई नोक्सान भएको महशुस गरिरहेका छन्।
साथै अर्को यस्तो समूह पनि छ जसले यस राजनीतिक विषयको कहिल्यै अन्त्य नै नहुने ठानेका थिए। मैले सबैका मनोभावना बुझेको छुँ। अब मेरो काम भनेको देशलाई एकताको सूत्रमा बाँधेर अघि बढाउनु हो। साथै ब्रेक्जिटको यो अन्त्य होइन बरु शुरुआत हो। जर्मनीका चान्सलर एन्जेला मर्केलका प्रवक्ता स्टेफन सिबर्टलले बेलायतको बहिर्गमनको कारण युरोपेली संघमा ठूलै परिवर्तन आउने प्रतिक्रिया दिएका छन्।
तर उनले भविष्यमा पनि बेलायत जर्मनीको एक असल मित्रको रुपमा रहिनै रहने विश्वास व्यक्त गरेका छन्। साथै उनले युरोपेली एकीकरणले युरोपमा शान्ति र समृद्धि ल्याएको तथा अझै जर्मनी अन्य अन्य २६ सदस्य राष्ट्र रहेको ईयूले आफ्नो सफलताको कथा जारी राख्ने बताएका छन्।
तेस्रो प्रयासमा सन् १९७३ को १ जनवरीमा बेलायतले तत्कालीन युरोपेली आर्थिक समुदायको नामले चिनिने ईयूमा प्रवेश गरेको थियो। त्यसको दुई वर्षपछि राष्ट्रव्यापी रूपमा भएको जनमत संग्रहालयमा बेलायतले यस समूहमा रहिरहन अत्यधिक बहुमत हासिल गरेको थियो।
बेलायतका पूर्वप्रधानमन्त्री थेरेसा मेले पटक–पटक संसद्बाट युरोपेली संघबाट बाहिरिने सम्झौता पारित गर्न असफल भएकी थिइन्। मेलाई प्रतिस्थापन गर्न आएका कनजरभेटिभ प्रधानमन्त्री बोरिस जोहन्सनले गत वर्षको डिसेम्बरमा ८० सिटको बहुमतसहित ब्रेक्जिटलाई फत्ते पार्ने नारासहित आम निर्वाचनमा सफलता हासिल गरेका थिए।
उनको ईयूबाट बेलायतलाई अलग्याउने सम्झौता क्रिसमसको सन्मुखमा विधायकहरूले पारित गरेका थिए। यसै वर्षको शुरुमा सो विधेयक कानुनमा पारित भएको थियो।











प्रतिक्रिया