बुटवलमा नवौं सूचना प्रविधि मेला सुरु



यमलाल भुसाल, बुटवल ।

बुटवलमा नबौं संस्करणको सूचना प्रविधि सम्बन्धि मेला (क्यान ईन्फोटेक) सुरु भएको छ । शुक्रबादेखि सुरु भएको सूचना प्रविधि मेलाको उद्घाटन गर्दै प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सूचना प्रविधि बिकासको आधार भएको बताउँदै सूचना प्रविधिको प्रयोग बढाउने योजना बनाउन आग्रह गर्दै क्यानले बनाएको योजनामा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले अझैपनि सूचना प्रविधिको प्रयाप्त बिकास हुन नसकेको बताउँदै आम नागरिकले सूचना प्रविधिको प्रयोग गर्ने बानीको बिकास गर्नेगरी योजना बनाउन आग्रह गर्नुभएको हो । मन्त्री बरालले सूचना प्रविधिको बिकासले मात्रै प्रदेश बिकासको गति लिने औंल्याउँदै प्रदेशको बिकासको आधार तयार गर्नेगरी सूचना प्रविधिको बिकासको योजना बनाउनका लागि क्यान महासंघलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सूचना प्रविधिको बिकासमा यससंग काम गर्ने संस्थाहरुको भूमिका रहने बताउँदै त्यो भूमिकामा आफूहरुलाई क्रियाशिल गराउन आग्रह गर्नुभयो ।

क्यान महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज कुवँरले सूचना प्रविधिको बिकासकालागि बिकसित प्रविधिको जानकारी गराउने उद्देश्यले नै क्यान महासंघले प्रत्येक वर्ष मेला गर्दै आएको बताउनु भयो । सूचना प्रविधिको बिकासकालागि क्यान महासंघले आफ्नो ठाउँबाट भूमिका खेल्ने पनि उल्लेख गर्नुभयो ।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, क्यान महासंघका प्रदेश अध्यक्ष रोषन कंडेल लगायतले भनाई राख्नुभएको थियो । यहि माघको २३ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधका ११० स्टल राखिएको छ भने सूचना प्रविधि संग सम्बन्धित बिषयमा प्रतियोगिता सञ्चालन गरिने क्यान महासंघ रुपन्देहीका सचिव जीवन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्