ओलीलाई प्रचण्डको प्रस्ताव : पूर्वाग्रह त्यागेर एकताबद्ध होऔँ


काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटमा रहेको भन्दै सबै आग्रह, पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

उनले विगतमा विभिन्न कम्युनिस्ट घटकबीच भएका एकता र सहकार्यका क्रममा भोगिएका उतारचढावको आत्मसमीक्षा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पुनः एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका कम्युनिस्ट नेताहरूलाई पनि एकताको प्रक्रियामा आउन आह्वान गरे ।

उनले हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता तथा कार्यकर्तालाई एक ठाउँमा जोड्ने जिम्मेवारी पनि आफूहरूमाथि रहेको बताए ।

‘केपी ओलीसमेत, मोहनविक्रमजीसमेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहलाई पनि एकताबद्ध गर्नुपर्ने आजको वस्तुगत आवश्यकता बनेको छ’, उनले भने ।

प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको एकता अन्तिम नभएको उल्लेख गर्दै अन्य कम्युनिस्ट घटकलाई पनि समेट्दै जाने बताए ।

‘देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाउनुपर्छ । सबै खालका आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्र र देशलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनुपर्छ’, उनले भने ।

उनले मुलुकको अस्तित्व नै संकटमा परेको अवस्था रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता रक्षाका लागि सबै राजनीतिक शक्तिले गम्भीर भएर सोच्नुपर्ने बताए ।