काठमाडौं।
वेस्ट इन्डिजका खेलाडी आन्द्रे रसेल ब्याटिङ र बलिङमा चम्किँदा जारी नेपाल प्रिमियर लिग (एनपीएल–३) अन्तर्गत मंगलबारको खेलमा विराटनगर किंग्स विजयी भएको छ ।
त्रिवि मैदानमा भएको खेलमा विराटनगरले पहिलो सिजनको च्याम्पियन जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित हासिल गरेको हो । यो विराटनगरको लगातार दोस्रो जित हो । सुरुआती दुई खेलमा जितको नजिक पुगेर पनि हार बेहोरेको टोलीले अघिल्लो खेलमा सुदूरपश्चिमलाई हराएको थियो ।
पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७४ रन जोडेको थियो । जसमा तीन खेलाडीले अर्धशतक प्रहार गरे । लोकेश बमले ४० बलमा ५० रन र इमरान शेखले ४५ बलमा ५६ रन जोडे । तर, रसेलको अर्धशतक भने आक्रमक थियो । नटआउट हुँदैं ५२ रन बनाएका उनले केवल २९ बलको सामना गरेका थिए । जसमा ५ छक्का र २ चौका सामेल थियो ।
१ सय ७५ रनको लक्ष्य दिएपनि कर्णाली याक्सविरुद्धको खेलमा झैं विराटनगर हारको संघारमा पुगेको थियो । विराटनगरले कर्णालीविरुद्ध १ सय ८६ रन बनाएपनि हारको सामना गर्नु परेको थियो । हिजोको खेलमा यही क्रम दोहोरिने संभावना बनिसकेको थियो ।
अन्तिम ओभरमा बलिङ गर्न आएका रसेलले नै विराटनगरलाई संभावित हारबाट जोगाएका थिए । उनले अन्तिम ओभरमा जमिरहेका सैफ हसनको विकेट निकालेपछि विराटनगरले जित हात पार्न सफल भएको थियो । उनले सैफलाई ७१ रनमा आउट गरेका थिए । योसँगैं ब्याटिङपछि बलिङमा प्रभावित गरेका रसेलले चार विकेट लिन सफल भयो ।
रसेलको पाँचौं बललाई बाउन्ड्री पार गरेपनि अन्तिम बलमा सैफ आउट भएका थिए । सैफले बाउन्ड्री पार गर्न भरपूर कोशिस गरे तर, उनको प्रहारको बल सिधै फिल्डरको हातमा पुगेको थियो । योसँगैं जनकपुरको इनिङ १ सय ७२ रनमा रोकिएको थियो ।











प्रतिक्रिया