काठमाडौंका ३२ वटै वडाका महिलालाई विद्युत् सुरक्षा तालिम दिइने


काठमाडौं

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका गृहिणी तथा कामकाजी महिलालाई विद्युत् सुरक्षासम्बन्धी सचेतना र व्यवहारिक प्रशिक्षण दिइने भएको छ। यससम्बन्धी कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिका र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) बीच आज सम्झौता भएको छ।

सम्झौतामा सीनका अध्यक्ष इन्जिनियर दिल्लीरत्न शाक्य र काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख अनिरुद्र नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महानगरभित्रका ६ सयदेखि ७ सय महिलालाई विद्युत् तथा विद्युतीय उपकरणको सुरक्षित प्रयोग, विद्युत् चुहावट, सर्ट सर्किट, ओभरलोड, अर्थिङ र विद्युतीय आगलागीबाट बच्ने उपायबारे प्रशिक्षण दिइनेछ।

सम्झौताअनुसार कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय सभागृहमा विद्युत् सुरक्षासम्बन्धी गोष्ठी आयोजना गरिनेछ भने दोस्रो चरणमा महानगरका ३२ वटै वडामा व्यवहारिक प्रशिक्षण सञ्चालन गरिनेछ। प्रशिक्षण महिला इलेक्ट्रिकल इन्जिनियर तथा महिला प्राविधिक विज्ञहरूले दिनेछन्। ‘महिलाका लागि महिलाबाट विद्युत् सुरक्षा शिक्षा’ कार्यक्रमको मूल अवधारणा रहेको छ।

घरमा इन्डक्सन चुलो, इलेक्ट्रिक हिटर, गिजर, मल्टिप्लग तथा अन्य विद्युतीय उपकरणको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे महिलालाई व्यवहारिक जानकारी दिने कार्यक्रमको उद्देश्य छ। घरायसी काममा विद्युत् तथा विद्युतीय उपकरणको नियमित प्रयोग हुने भए पनि तिनको सुरक्षित सञ्चालन र सम्भावित जोखिम पहिचानबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको जोखिम रहने गरेको छ।

विद्युत् इन्जिनियरिङ, ऊर्जा विकास, विद्युत् सुरक्षा तथा प्राविधिक क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको सीनले यस कार्यक्रममार्फत घरपरिवार हुँदै समुदायस्तरसम्म विद्युत् सुरक्षासम्बन्धी चेतना विस्तार गर्ने लक्ष्य राखेको छ।