हेरिटेज पेजेन्टस् मलेसियामा



सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको हेरिटेज पेजेन्टस्को २०२० को संस्करण आगामी अप्रिल ११ देखि २० सम्म मलेसियामा हुने भएको छ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा सम्पन्न हुनेछ। यस पटकको हेरिटेज् पेजेन्टस् २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपाललगायत विश्वका ४० मुलुकका ५० प्रतिस्पर्धी सहभागी हुनेछन्। इप्लानेट प्रालि नेपालको आयोजनामा हुने प्रतियोगिताको मिसतर्फ १८ देखि २७ वर्ष उमेर समूहभित्र तथा मिसेस्तर्फ २० देखि ४५ वर्ष उमेर समूहभित्रकाले सहभागिता जनाउन पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन्।

सिंगापुरका सुसान कोहको संयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि नेपालबाट सञ्चारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ।

प्रतिक्रिया दिनुहोस्