कुख्यात लागूऔषध तस्करलाई फाँसी



तेहरान, (एजेन्सी)।

इरानको सरकारी सञ्चार माध्यमले शनिबार ‘क्रोकोडायल अफ दि पर्सियन गल्फ ’ को उपनामले समेत कुख्यात खतरनाक लागूऔषध तश्करलाई मृत्युदण्ड दिएको तथा उनको समूहलाई तहसनहस पारेको दाबी गरेको छ।

सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय जल क्षेत्रमा एक सय टनभन्दा बढी लागूऔषधसहित पक्राउ गरिएको बताएका छन्।उनको समूह विरुद्धको एक वर्ष लामो विशेष सुरक्षा कारबाहीको दौरान ३६ वर्षीय उनका एक विशेष सहयोगी मारिएको सुरक्षा सूत्रले जनाएको छ।

प्रत्येक वर्ष इरानले सयौं कैदीलाई मृत्युदण्ड दिने गरेको छ।एमनेस्टि इन्टरनेसनलले सन् २०१८ मा इरानमा कम्तिमा २ सय ५३ जनालाई मृत्युदण्ड दिइएको जनाएको छ। लागूऔषधसम्बन्धी कडा कानुनमा संशोधन गरिएको कारण पछिल्लो वर्षको तुलनामा मृत्युदण्डमा ५० प्रतिशतले कमि आएको थियो।

सन् २०१७ मा ५ सय ७ जनालाई मृत्युदण्ड दिइएको थियो। तर अझै पनि इरानमा ठूलो परिमाणमा लागूऔषधको तस्करी गरेको पाइएमा मृत्युदण्ड नै दिइने प्रावधान रहेको छ।

होर्मोज्गान प्रान्तका प्रमुख न्यायाधीश अली सालेहीले इस्ना समाचार निकायलाई बताएका छन्,‘क्रोकोडायलले विभिन्न छद्मभेषमा लागूऔषधको कारोबार गर्दै आएका थिए। इरान र यस वरपरका क्षेत्रमै यिनी सबैभन्दा खतरनाक र ठूलो तश्कर हुन्।’

यस समूहका अन्य सदस्यहरुलाई जनही ५ वर्षसम्मको कैद र ठूलो परिमाणमा आर्थिक जरिवाना तोकिएको छ। क्रकोडायल समूहले अवैध रूपमा आर्जन गरेको रकम रियल स्टेटमा लगानी गर्ने गरेको पाइएको छ। हालै सरकारले तिनीहरुका केही रियल स्टेट जफत गरेको छ।

प्रतिक्रिया दिनुहोस्