पाइजामालाई असभ्य भन्ने चिनियाँ अधिकारीले माफी मागे



बेइजिङ, (एजेन्सी)।
चिनियाँ अधिकारीहरुद्वारा पाइजामा लगाएका नागरिकलाई असभ्य भनेपछि सामाजिक सञ्जाल तथा अनलाइनमा व्यापक बहसको विषय बनेको छ। चिनियाँ जनताले यस घटनामा अधिकारीप्रति आक्रोश पनि व्यक्त गरेका छन्।
चीनको एक शहरमा अधिकारीहरुले सार्वजनिक स्थानमा पाइजामा लगाएकाहरुलाई ‘बेइज्जत गर्नेहरु’ बताएका थिए। जनतामा यस टिप्पणीलाई लिएर कडा विरोध देखिएपछि अधिकारीहरुले माफी मागेका छन्।
सुझोउ सहरका अधिकारीहरुले केही दिन अगाडि रात्री पहिरण लगाएका सात जनाको तस्वीर जारी गरेका थिए र एक सार्वजनिक अभियानअन्तर्गत यसलाई असभ्य व्यवहारको संज्ञा दिएका थिए।

उक्त तस्वीर छापिएपछि कयौंले सरकार ड्रेस कोड लादेर जनताको निजी मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्। अनलाइन ‘सेमिंग’ मा पाइजामा लगाएको तस्वीर पनि राखिएको थियो।

जुन तस्वीर सर्विलेन्स क्यामराले खिचेका थिए। यसमा व्यक्तिको नाम, आईडी कार्ड र अन्य जानकारी पनि समावेश गरिएको थियो।

हालैका केही वर्षमा चीनमा सर्विलेन्स प्रविधिको व्यापकता धेरै विस्तार भएको छ। चीनले आर्टिफिसियल इन्टेलिजेन्स, विशेष गरी फेसियल रिकग्निसन प्रविधिमा अर्बौं डलर लगानी गरेको छ।
रक्षाको दृष्टिकोणले यसलाई सार्वजनिक स्थानहरुमा लगाइएको छ।एक समाचारमा दुई वर्षअघि चीनमा १७ करोड सीसीटीभी क्यामरा थियो भने सन् २०२० सम्ममा ४० करोड क्यामरा लगाउने अपेक्षा गरिएको छ। यो क्यामरा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट लेस छ।

प्रतिक्रिया दिनुहोस्