स्ववियु निर्वाचन गराउन समिति सक्रिय



नेपाल समाचारपत्र, काठमाडौं।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको बैठक बसेको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवं निमित्त रेक्टर प्राडा. शिवलाल भुषालको संयोजकत्वमा सोमबार बसेको बैठकले सरोकारवाला निकायसँग तत्काल छलफल गरी प्रकृया अघि बढाउने निर्णय गरेको छ।

संयोजक एवं निमित्त रेक्टर प्राडा. भुषालले निर्वाचनको प्रकृया अघि बढाउने विषयमा छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अब विद्यार्थी संगठन, सुरक्षा निकायलगायत सबैसँग छलफल गरेर प्रकृया अघि बढाउनेछौं।’

त्रिविले गठन गरेको संयोजकसहित १६ सदस्यीय समितिको बैठकले स्ववियु निर्वाचन गर्ने विषयमा सबैसँग छलफल गर्ने निर्णय गरेको थियो। बैठकमा सहसंयोजक एवं रजिस्ट्रार प्राडा. पेशल दाहाललगायतको उपस्थिति रहेको थियो।

निर्वाचन समितिका सदस्य सचिव गंगाबादुर थापा मगरले बैठकमा निर्वाचन प्रकृयाको विषयमा कुराकानी भएको जानकारी गराउनुभयो। त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बास्तोलाले आफ्नो कार्यकालको महत्वपूर्ण कामको रूपमा रहेको स्ववियु निर्वाचनमा सबैलाई लागी पर्न आग्रह गर्नुभएको थियो।

यसअघि त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयले त्रिवि संगठन तथा प्रशासनसम्बन्धी नियम २०५० को उपनियम ३४८ को खण्ड (घ) बमोजिम २ वर्षे कार्यकाल रहने भएकाले निर्वाचन प्रकृया शुरु गर्न निर्देशन दिएको थियो।

त्रिवि कार्यकारी परिषद्को यही २२ गतेको बैठकले फागुन १४ गते निर्वाचन गर्ने निर्णय गर्दै सबै क्याम्पसलाई निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको हो। यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै गर्नुपर्ने बाध्य भएको छ।

त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र एक हजार सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको छ।त्रिविले त्यसबेला त्रिविले पहिलोपटक २८ वर्ष उमेर हद कायम गरी निर्वाचन गरेको थियो।

उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। यो वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद बनाएर निर्वाचन गर्नेछ। यसैगरी त्रिविले कार्यतालिका तयार गरेको छ।

तालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, २ गते दाबी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने,४ गते प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण गर्ने, ५ गते नामावली दाखिला गर्ने, ५ गते प्रत्यक्षतर्फको नामावली प्रकाशित गर्ने, ६ दाबी विरोधसहित अन्तिम समय दिने, ७ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सोसँगै १४ गते निर्वाचन गर्ने गरी प्रारम्भिक कार्यतालिकाको विषयमा छलफल गरेको छ।

प्रतिक्रिया दिनुहोस्