भारतीय सेना दिवस बनाइयो



काठमाडौं, (नेस)। 

७२औं भारतीय सेना दिवस नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी मनाएको छ। सो कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताउनुभयो।

दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उहाँले उनीहरूको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोवास गरिरहेका उनीहरूका परिवारको सेवाका साथै उनीहरूको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरूको अथक प्रयासको प्रंशसा गर्नुभयो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणका रुपमा रहेको बताउनुभयो।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभयो।

सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी, सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्