उपसभामुखद्वारा राजीनामा



काठमाडौं, (नेस)। 

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिनुभएको छ। जारी गतिरोधलाई अन्त्य गर्न मार्ग प्रशस्त गर्ने भन्दै डा तुम्बाहाम्फेले पदबाट सोमबार राजीनामा दिनुभएको हो।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि चार महिनादेखि प्रतिनिधि सभा सभामुखविहीन बनेको थियो। त्यसयता पुस १ गतेदेखि सुरु हुने गरी तोकिएको पाँचौं हिउँदे अधिवेशन शुरु नहुँदै तीन पटकसम्म बैठक स्थगित हँुदै सोमबारका लागि तोकिएको थियो।

सत्तारूढ दल नेकपाबाटै सभामुखको उम्मेदवार टुंगो नलागेपछि सभा बस्न सकिरहेको थिएन। तुम्बाहाङफेले सोमबार मध्यान्ह चलेको सभाको अध्यक्षता गर्दै जारी परिस्थितिका लागि मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको धारणा राख्नुभएको थियो।

‘एउटा अप्रत्यासित र अस्वाभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ, यसबाट उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याबाट निकास पाउन मैले मार्ग प्रशस्त गर्ने माध्यम रोजेकी छु’ –उहाँले सभालाई गर्नुभएको सम्बोधनमा बोल्नुभयो।

अन्योलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने पहिल्यै भनेको उहाँले सभामा बताउनुभयो।

त्यसको केही समयपछि उहाँले संसद् भवनमै पत्रकार सम्मेलन गर्दै उपसभामुख पदबाट राजीनामा दिएको औपचारिक जानकारी गर्नुभएको थियो। नेतृत्वविहीन स्थितिमा बहकिनुहुन्न भन्ने मान्यता बोकी मुलुकको व्यवस्थालाई जितेको धारणा राख्नुभयो।

उहाँले आफू कोही संस्था र व्यक्तिको आडमा यसरी अडान लिई नबसेको दाबी गर्नुभयो। ‘यसबीचमा धेरै आरोह अवरोह देखियो। म विधिसम्मत व्यवस्थालाई मानेर अडानमा बसेँ। यसमा मैले आफूलाई बाजी मारेँ ठान्छु। यो अडान कुनै संस्था र व्यक्तिको आडमा आएको होइन’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्