विप्लवका पाँच नेता अदालत गेटबाटै पुन: पक्राउ



नरेन्द्र केसी, दाङ।

विप्लव नेतृत्वको नेकपाका पाँच जना नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ।

जिल्ला अदालतबाट धरौटीमा छुटेका तुलसीपुर उमनपा–१९ निवासी नेकपाका राप्ती व्युरो सदस्य ६५ वर्षीय रामबहादुर थापा, राप्ती गापा–५ निवासी दाङ जिल्ला इन्चार्ज ४६ वर्षीय यमलाल कटुवाल, थवाङ गापा–१ रोल्पा निवासी थवाङ स्वायत्त क्षेत्र इन्चार्ज ४३ वर्षीय हितप्रसाद रोका, थवाङ गापा–१ निवासी थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी ३५ वर्षीय अमित घर्तीमगर र शान्तिनगर गापा–२ निवासी पार्टीका सदस्य ४९ वर्षीय इन्द्रबहादुर वलीलाई अदालतको गेटबाटै पक्राउ गरेको हो।

गत असोज ३० गते दाङको राजपुर गापा–४ बाट पक्राउ भएका उनीहरूलाई प्रहरीले संगठितरुपमा राज्यविरुद्धको कसुर गरेको आरोपमा मुद्दा चलाएकोमा जिल्ला अदालतले पुस ७ गते जनही १५/१५ हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर धरौटी नबुझाएपछि उनीहरूलाई तुलसीपुर कारागार चलान गरिएको थियो।

परिवारहरूले आइतबार जिल्ला अदालतमा धरौटी बुझाएपछि कारागार प्रशासनले रात परेकाले सुरक्षा चुनौती भन्दै सोमबार बन्दीहरूलाई अदालत उपस्थित गराएको हो।

पक्राउ गरिएका पाँचै जनालाई बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राप्ती ब्युरो बैठक बसिरहेका वेला राजपुरबाट पक्राउ परेका २१ नेता, कार्यकर्तालाई तुलसीपुर कारागार राखिएको थियो।

तीमध्ये ११ जनालाई पुनः पक्राउ गरी मुद्दा चलाएकोमा ४ जना कपिलवस्तुबाट रिहा भइसकेका छन्। त्यसै गरी ४ जनालाई रोल्पा सरुवा गरिएको छ भने एक जनालाई सल्यान लगिएको छ।

तुलसीपुर कारागारमा नेत्र विक्रम चन्द विप्लवका दाजु तथा विप्लव नेतृत्वका नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज ५९ वर्षीय चन्द्रबहादुर चन्द वीरजंगसहित पाँच नेता कार्यकर्ता छन्।

 

प्रतिक्रिया दिनुहोस्