राजकुमारी एस्ट्रिडद्वारा क्षयरोग केन्द्र उद्घाटन



काठमाडौं, (नेस)। 

नेपाल भ्रमणमा रहनु भएकी बेल्जियमकी राजकुमारी एस्ट्रिडले कैलालीमा निर्माण भएको नवनिर्मित क्षयरोग केन्द्रको उद्घाटन गर्नुभएको छ। क्षयरोगको उपचार र अनुसन्धानका लागि स्थापना भएको लक्ष्मीनारायण क्षयरोग केन्द्रको स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र एस्ट्रिडले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो।

सो केन्द्र दामिन फाउन्डेसन नामक बेल्जियमको गैर सरकारी संस्थाले आर्थिक र प्राविधिक सहयोगमा स्थापना भएको हो। सो अवसरमा बोल्दै एस्ट्रिडले नेपालको स्वास्थ्य सेवा र अनुसन्धान केन्द्र स्थापनाका लागि आफ्नो मुलुकले गरेको सहयोगको प्रशंसा गर्दै सो केन्द्रबाट सुदूर पश्चिम प्रदेशका नागरिकले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गर्नुभयो।

बेल्जियम सरकार र त्यहाँका नागरिकले नेपालका अन्य क्षेत्रमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन चाहेको उहाँले बताउनुभयो।

स्वास्थ्यमन्त्री ढकालले बेल्जियमले नेपालका विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

एक साता लामो नेपाल भ्रमणका लागि आइतवार दिउँसो काठमाडौं आउनु भएकी एस्ट्रिडले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग आइतवारसाँझ भेटवार्ता गर्नु भएको छ।

सो भेटवार्ता द्विपक्षीय सम्बन्धलाई अझ घनिष्ट बनाउँदै, व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

एस्ट्रिडले आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। नेपाल बसाइका क्रममा उहाँ भक्तपुर, नवलपरासी र चितवनका विभिन्न सामाजिक कार्यमा सहभागी रहनुहुनेछ।

नवलपरासीको मध्यविन्दु अस्पतालको अवलोकन गर्ने एस्ट्रिडले त्यहाँका सेवाग्राहीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्