राष्ट्रिय सुरक्षाका लागि तथ्य लुकाइएको : इरानी जनरल



तेहरान,(एजेन्सी)।

इरानका एकजना सैनिक जनरलले सम्पूर्ण १ सय ७६ जना व्यक्तिको ज्यान जाने गरी युक्रेनी यात्रुवाहक बोइंग ७३७–८०० विमानलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको वास्तविकतालाई केहि दिन लुकाउन इरान सरकारले गरेको निर्णयको बुधवार वकालत गरेका छन्।

देशको क्षेप्यास्त्र प्रणाली हेर्ने जिम्मेवार लिएको फौजको नेतृत्व गर्ने जनरल आमिर अली हाजिजादेहले युक्रेन इन्टरनेसनल एयरलायन्सको कल साइन ७५२ बोकेको विमान खसालेको कुरालाई राष्ट्रिय सुरक्षाको प्रतिरक्षाका लागि गोप्य राख्नु परेको बताएका छन्।

गत ८ जनवरीमा रिभोलुस्नरी गार्डस कोप्र्सले क्षेपयास्त्र प्रहार गरी उक्त विमान खसालेको तथ्यलाई ११ जनवरीमा मात्र इरान सरकारले स्विकार गरेर गल्तीवश सो घटना भएके भन्दै क्षमायाचना गरेको थियो।

इरानको राजधानी तेहरान स्थित विमानस्थलबाट उडेको केहि क्षण पछि नै खसेको यस विमान दुर्घटनाबारे जनरल आमिरले सरकारी टेलिभिजन मार्फत नयाँ तथ्य सार्वजनिक गरेका हुन्।

आमिर सर्वोच्च नेता अयातोल्ला अली खामेनीको प्रत्यक्ष आदेश पालना गर्ने रिभुलुस्नरी गार्डसंग आवद्ध छन्।
यो शक्तिशाली अर्धसैनिक फौज इरानको निर्वाचित सरकार भन्दा शक्तिशाली मानिन्छ।

त्रुटीवश यसरी विमान माथि क्षेप्यास्त्र प्रहार हुन पुगे भनिएबाट इरानको क्षेप्यास्त्र प्रणाली प्राविधिक रुपमा सक्षम नभइसकेको अनुमान अन्तर्राष्ट्रिय हातहतियार विशेषज्ञहरुले विश्लेषण गरेका छन्।

अमेरिकाको ड्रोन विमान आक्रमणमा परेर इराकको एक विमानस्थलमा इरानका सैनिक कमान्डर जनरल कासिम सुलेमानीको ज्यान गएपछि बदला लिने हिसाबले इरानले इराक स्थित अमेरिकी सैनिक अखाडामा रकेट हमला गरेको थियो। परिणाम स्वरुप अमेरिका र इरानबिच झण्डै युद्ध शुरु हुने अवस्था आइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्