नेपाली समाजले गर्यो टोरन्टोमा बृहत् रक्तदान



स्ककार्बोरो, क्यानडा।

क्यानडाको विशालतम शहर टोरन्टोमा रहेका नेपालीले गत शनिबार एक बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। रक्तदान कार्यक्रमको संयोजन सीमाविहीन सहयोगी हातहरू भनिने हेल्पिङ ह्यान्डस् विउदाउट बोडर क्यानडाले गरेको हो।

सेडारब्रुक कम्युनिटी सेन्टर स्ककार्बोरोमा भएको रक्तदान कार्यक्रममा अपेक्षा गरेभन्दा अधिक संख्यामा रक्तदाताहरू सहभागी भएको आयोजक संस्थाले जनाएको छ।

संस्थाका प्रवक्ता राजन छत्कुलीका अनुसार संस्थाले स्थापनाको छोटो समयमै विभिन्न सामाजिक काम र सहयोग गर्दै आइरहेको छ। ‘गत वर्ष सस्थाले मध्य–तराईमा गएको विनासकारी आँधी–बेहरीबाट प्रभावित पीडितहरूको लागि एनआरएनए क्यानडामार्फत आर्थिक सहायता गरियो’ छत्कुलीले जानकारी दिनुभयो।

त्यस्तै गत २०७६ मंसिर १३ गते काठमाडौंस्थित एकता समूह धापासीको सहयोग तथा व्यवस्थापनमा वृद्धा महिलाहरूको एक दिने धार्मिक तीर्थाटन भ्रमण कार्यक्रम सञ्चालन गरिएको पनि छत्कुलीले बताउनुभयो।

सस्थामा नेपालको विभिन्न स्थानबाट क्यानडा आई विभिन्न पेसा व्यवसाय गरी बसेका छत्कुली– चितवन, अञ्जनीराज भट्टराई– हेटौंडा, ऋषिकेश घिमिरे– कपिलवस्तु, डा. गोपाल पाठक– स्याङ्जा तथा रवीन्द्र आचार्य– कुपोन्डोल, ललितपुर सञ्चालक समितिका पदाधिकारीका रुपमा सक्रिय हुनुहुन्छ।

रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने व्यक्तित्वहरूलाई संस्थाको आगामी साधारणसभामा प्रशंसापत्र वितरण गरिने सस्थाका संयोजक अञ्जनीराज भट्टराईले नेपाल समाचारपत्रलाई बताउनुभयो।

संस्थाले आयोजना गरेका रक्तदान लगायतका सामाजिक कार्यमा योगदान दिने व्यक्तिहरूलाई सदस्यका रूपमा प्राथमिकता दिइने पनि भट्टराईले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्