सत्ताको नजिक रहेका प्रसाईं र गिरीको द्वन्द्व : मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं फरार



पुष्कर बुढाथोकी, भक्तपुर।

झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं महानगरीय प्रहरी परिसर भक्तपुरको खोजी सूचीमा छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन्।

२० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा बुधबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका हुन्।

अनुमति पाएलगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निकोसेरा नजिकको निवासमा पुगेको थियो। तर उनी घरमा नभेटिएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानले प्रसाईंंविरुद्ध पक्राउ पुर्जी जारी भएको र उहाँलाई पक्राउ गर्न झापा प्रहरीलाई पनि सम्पर्क गरेको तर त्यहाँ नभेटिएको भन्ने खबर आएको बताउनुभयो। हामी खोज्दै छौं, उहाँको मोबाइलको स्विच पनि अफ छ’, –उहाँले भन्नुभयो।

प्रधानका अनुसार अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति लिइएको हो। प्रसाईंले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गरेका थिए।

प्रसाईंले डा. गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका थिए। गिरीले प्रसाईंको आरोप खण्डन गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानीको मुद्दासमेत दर्ता गरेका थिए।

यता बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बीमा बोर्डको निर्देशक हुँदादेखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने प्रसाईंको माग छ। गिरीले बी एन्ड सीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर पैसा मागेको आरोप प्रसाईंको छ।

प्रसाईंले मंगलबारै राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू पनि गिरीविरुद्ध अदालत जाने तयारी गरेको बताएका थिए। उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।

गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद शुरू भएको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए।

सोही मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाईंलाई पक्राउ गर्न प्रशासनले अनुमति दिएको थियो। यता मानहानीको मुद्दाका बारेमा काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको छ। अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखितरूपमा अदालत समक्ष राख्न आदेश दिइएको हो।

सत्ताको नजिक रहेका प्रसाईं र गिरीको द्वन्द्व आम चासोको विषयसमेत बनेको छ। नेकपाको एकता प्रक्रियाको बेला तत्कालीन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भक्तपुरस्थित घरमा वार्ता गर्ने वातावरण मिलाई मार्सी चामलको खाना दिएर प्रसाईं चर्चामा आएका थिए।

सत्ताकै एक धार नजिक रहेका गिरी र अर्को धार नजिक रहेका प्रसाईं यी दुई बीचको मुद्दाको टुंगो कसरी लाग्ने हो चासोको विषय भएको छ। दुईबीचको मद्दाको समाधान सत्ताधारी दलभित्रै बाट खोजीने हो वा छताछुल्ल भएर सतहमै देखिने हो या अदालती प्रक्रियाबाट टुंगिने हो त्यसका लागि भने केही समय पर्खनै पर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्