एपीएफद्वारा चोरीपैठारीको सामान बरामद



काठमाडौं, (नेस)।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजबाट एपीएफ टोलीले दुई लाख आठ हजार रुपियाँबराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

ना१ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रूपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
यसै गरी वीरगन्ज महानगरपालिका–१६ स्थित बाईपास रोडबाट पनि टोलीले एक लाख ५० हजार रुपियाँबराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा इलोक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका–५ स्थित कठालबाट टोलीले एक लाख ३७ हजार रुपियाँबराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट खजुरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हडेक्वार्टर रौतहटबाट खटिएको एपीएफ टोलीले एक लाख २२ हजार रुपियाँबराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।
भारतबाट अवैध रूपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यबराबरको किराना सामान तथा १२ थान मोबाइल सेट एपीएफ टोलीले रौतहटको गरुडा नगरपालिका–५ स्थित शिवनगरबाट बरामद गरेको हो।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्