पाँचौं योग दिवस मनाइयो



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोनजनामा संचालित कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनका लागि नभई नहुने मानव स्वास्थ्यको महत्वपूर्ण अंग भएको कुरा बताउनुभयो।

मन्त्री ज्ञवालीले पछिल्लो समय मानव स्वास्थ्यमा देखा परेका समस्याको मूल कारण आधुनिकताको सिकोमा आफ्ना परम्परागत सीप, ज्ञान, व्यायाम, कामलाई छोड्दै शहरको बसाइ र विनापरिश्रम शरीरलाई बिगारेका कारण शारीरिक र मानसिक तनावले ठूलो स्वास्थ्य समस्या निम्त्याएको छ।

यसलाई कम गर्ने एउटै मात्र उपयुक्त माध्यम भनेको योग हो। अब योगलाई विद्यालयको पाठ्यक्रममा नै समेट्नुपर्ने वेला भइसकेको छ। उहाँले परापूर्व कालमा आधुनिक चिकित्साको उपलब्धता नहुँदा प्राकृतिक चिकित्साकै माध्यमबाट उपचार योग, ध्यानकै माध्यमबाट मानव शरीर स्वस्थ, शान्त र उत्साहित जीवन जिउन सफल भएका थिए।

योग सबै मानव जीवनको प्रगति र सफलताको उपयुक्त माध्यम बन्न सक्छ भन्नुभयो। सोही अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई नीतिगत रूपमै प्राथमिकतामा राखेको र योगलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आफु लागि पर्ने बताउनुभयो।

सोही अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी दिनमा विद्यालय तहमा समेट्ने योजना बनिसकेको जानकारी गराउनुभयो।

उहाँले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने समेत जानकारी गराउनुभयो।

योग एक दिन होइन हरेक दिन व्यवहारमा ल्याउने प्राकृतिक ज्ञान हो भन्नुभयो।त्यसै गरी पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नु महत्वपूर्ण कार्य भएको जानकारी दिनुभयो।

उहाँले स्वामी आनन्द अरुण गौतम बुद्ध जन्मेको दिनलाई योग दिवस मनाउनुपर्ने सुझाव समेत दिनुभयो। सहभागीहरुले प्राथमिक तहमा मात्र नभई माध्यमिक तहसम्मको पाठ्यक्रममा योग शिक्षा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।

हरेक वर्ष माघ १ गते मनाइँदै आएको छ। पाँचौं योग दिवसको मूल नारा ‘राष्ट्रिय एकता योगको सान्दर्भिकता’ रहेको थियो। यही नाराका साथ देशैभरि सरकारका मुख्य निकायसहित विभिन्न संघसंस्थाको सहभागितासहित योग दिवस मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्