सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन आग्रह



नेपाल समाचारपत्र, काठमाडौं।

सरकारले केही समयअघि मात्र सामाजिक सुरक्षा योजना ल्याएको छ। यसबीच केही निजी व्यावसायिक प्रतिष्ठानहरूबाट सुरक्षा योजनाका विषयमा केही विरोधसमेत आइरहेको सन्दर्भमा राजधानीमा सामाजिक सुरक्षा कोष ः भ्रम र वास्तविकता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रियसभाका सदस्य राम नारायण बिडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भए पनि केही व्यक्तिहरूले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताउनुभयो। उहाँले सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरूको बीचमा केही अप्ठ्याराहरू रहेका भए पनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको बताउनुभयो।

पछिल्लो समय विभिन्न सरकारी स्वामित्वका कार्यालय र बैंक तथा वित्तिय क्षेत्रका अधिकारीहरूले आफूखुसी नियम बनाएर मनोमानी रकम लिँदै आएकालाई मात्र अप्ठ्यारो पर्ने भएकाले सामाजिक सुरक्षा योजनामा नजान अस्थायी र ज्यालादारी कर्मचारीलाई उचालेको आरोप लगाउनुभयो।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरू फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थमा गएर आफूहरूको आलोचना गर्न सुझाव दिनुभयो।

विकसित मुलुकमा १ सय ३० वर्ष अगाडिदेखि सामाजिक सुरक्षा योजना लागू भएको भन्दै उहाँले नेपालमा भर्खरै आएको सामाजिक सुरक्षा योजनामा सबैको साथ र सहयोग हुनु जरुरी भएको बताउनुभयो।

सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा स्किमहरू ल्याएको उहाँले बताउनुभयो।

कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषमा प्रशिक्षार्थी कामदारसमेत कोषमा सहभागी भएको जानकारी गराउँदै यसभन्दा अगाडि ३ महिनाका लागि प्रशिक्षार्थीका रुपमा कामदार राख्दै आएकोमा हाल ६ महिनाका लागि कामदार राखेर कोषमा सहभागी भएकाले सामाजिक सुरक्षा कोषका स्किम आकर्षक रहेको दाबी गर्दै यसलाई सफल कार्यान्वयन गराउन आफूहरू लागि परेको बताउनुभयो।

कार्यक्रममा बैंकर संघका सीईओ अनिल शर्माले सामाजिक सुरक्षा कोष आफूहरू आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजनाअन्र्तगतका केही दुविदाका कारण समस्या आएको बताउनुभयो।

उहाँले निजी क्षेत्रको कर्मचारी र निजामति क्षेत्रका कर्मचारीबीच विभेद भएको कर्मचारी तहबाट गुनासो आएकाले सामाजिक सुरक्षा कोषलाई यस विषयमा जानकारी गराइसकेकाले कोषले छिट्टै यससम्बन्धमा निष्कर्ष निकाल्नेमा आफू आशावादी रहेको बताउनुभयो।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्दप्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजना समग्र श्रमिकको हकहितमा भएकाले यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी कार्यक्रममा टे«ड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, वरिष्ठ अधिवक्ता रमेश वडाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीलगायतका वक्ताहरूले कोषका बारेमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्