कमला कार्की स्मृति प्रतिष्ठानद्वारा सम्मान



तीनथाना नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका संस्थापक कमला कार्की स्मृति प्रतिष्ठानले ६ जनालाई सम्मानित गरेको छ। चौथो स्मृति दिवसमा सम्मानित हुनेमा पत्रकार आरती लम्साल, गायिका सृजना केसी, भलिबल खेलाडी सलिना श्रेष्ठ रहेका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशी, सांसद कृण्णगोपाल श्रेष्ठ र उमेश श्रेष्ठले उहाँहरूलाई सम्मन गर्नुभएको थियो। सम्मानितलाई नगद १० हजारसहित सम्मान गरिएको थियो।

त्यस्तै प्रतिष्ठानले निसहाय सहारा केन्द्रकी अध्यक्ष सगुन शाहलाई ८० हजार र चन्द्रागिरि नगरपालिका वडा नं १४ र १५ का धनमाया महर्जन र मिठु केसीलाई नगद १०–१० हजारसहित सम्मान गरेको थियो।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सांस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले सम्मानले सबैलाई हौसला बढाएको बताउनुभयो। उहाँले कमला कार्कीको योगदानलाई बिर्सन नहुने पनि बताउनुभयो।

साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले सम्मानित व्यक्ति तथा संस्थाबारे जानकारी गराउनुभयो। डा. लम्सालले यो केबल सम्मान कार्यक्रम मात्र नभएर ज्ञानको हस्तान्तरण र पुस्ता मिलन पनि भएको बताउनुभयो।

कमला कार्कीका सुपुत्र एवं प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रियस्तरमा समेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताउनुभयो।

विद्यालयका निर्देशक रहनुभएका कार्कीले सम्मानलाई थप उचाइमा पुर्याउन विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति उपलब्ध गर्दैै लैजाने उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्