माघेसङ्क्रान्ति मेला शुरू



म्याग्दी, (नेस)।

‘नेपाली संस्कृतिको संरक्षण गर्दै, आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दीमा मंलबारदेखि भ्रमण वर्ष लक्षित माघेसङ्क्रान्ति मेला शुरू भएको छ।

म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यम विकास समितिको मूल आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० एवं आठौं माघेसङ्क्रान्ति मेला–२०७६ आयोजना गरिएको हो।

मेलामा हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगमा उत्पादन भएका स्थानीय कृषि उपजहरुको बिक्री वितरणका साथै प्रदर्शनी गरिएको छ। दुई दिनसम्म चल्ने मेलामा नेपाली हाते कागजका उत्पादनहरू विभिन्न आकारका डायरीहरु, फोटोकपी पेपर, रजिस्टरलगायत सामग्री प्रदर्शनीमा राखिएको छ।

यसैगरी महिला उद्यमीहरुले तयार गरेको ढाकाको सल, रुमाल, नेपाली ढाका टोपी, झोला, पर्स, ल्यापटप ब्याग पनि प्रदर्शनीमा राखिएको महिला उद्यमीले बताएका छन्। त्यस्तै बेनी नगरपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा कृषि प्रदर्शनी मेलाअन्तर्गत कृषि उपजहरु स्टलमा राखिएको छ।

स्थानीय कृषकले उत्पादन गरेको फर्सी, च्याउ, तरुल, मुला, काउली, कटहर, मकैलगायत रहेका छन्। यसैबीच मेलाको मुख्य आकर्षणमा बेनी नगरपालिका–४, राक्सेका नवप्रतिभा नौमती बाजा समूह मुख्य आकर्षणमा रहेको छ।

परम्परागतरूपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजित मेलामा महिला उद्यमीलाई प्रोत्साहन र नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ। मेलाको उद्घाटन गर्नु पूर्व सदरमुकाम बेनीबजारमा विभिन्न जातजातिहरूको झाँकीसहितको र्याली देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्