ढिलो चाँडो उपसभामुखले राजीनामा दिनुहुन्छ : गुरुङ



काठमाडौं, (नेस)।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेदवार नै बन्न नपाउने दाबी गरेका छन्। उहाँले पछिल्लो समय मुलुकमा अनपेक्षित परिघटना भइरहेको बताउनुभयो। ‘संसद् अवरुद्ध हुनु दुःखद् हो।

यदि संसद् यही तबरले अवरुद्ध भइरहे मुलुकको सिस्टममा गत्यावरोध हुनसक्छ ,’ उहाँले भन्नुभया– ‘सदनको गत्यावरोध हटाउनको लागि र सदन सुचारु गर्नको लागि सबै दल गम्भीर हुनुपर्छ, अहिलेको संसद्को गत्यावरोध पार्टीसँग सम्बन्धित होइन, यो गत्यावरोध संवैधानिक अंगसँग सम्बन्धित,पार्टीले मात्रै निकास दिन सक्दैनन्।’

राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक गुरुङले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको बताउनुभयो। ‘उपसभामुखलाई पार्टीले निर्देशन दिन मिल्दैन्। आग्रहमात्रै गर्न मिल्छ।

उहाँ स्वतन्त्र हुनुहुन्छ। पार्टीको कुनै व्हीप जारी गर्न मिल्दैन्। मार्ग प्रशस्त गर्न त उहाँले आफ्नो स्वविवेकीय क्षेत्राधिकार प्रयोग गर्नसक्नुहुन्छ’ –गुरुङले भन्नुभयो। उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको दाबी गर्दै उहाँले उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेदवारी दिन नमिल्ने बताउनुभयो।

यदि उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्यरूपमा राजीनामा दिनुपर्छ, उहाँले भन्नुभयो। ढिलो वा चाँडो उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनेमा आफू विश्वस्त रहेको पनि गुरुङले बताउनुभयो।

संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिस्ट पार्टीमा त झनै त्यो कुरा स्वीकार्य नहुने बताउँदै उहांले भन्नुभयो– ‘यो फेयर पोलिलिटक्स होइन्। व्यक्तिका ईच्छा, आकांक्षा पूरा गर्नको लागि सदन अवरुद्ध गर्न मिल्दैन।’

प्रतिक्रिया दिनुहोस्