सहकारीको नाफा सामाजिक कार्यलाई



अमृत अर्याल ,स्याङ्जा।

धार्मिक प्रचार प्रसार र सामाजिक सेवामा क्रियाशील रहदै आएको वालिङ बोलबम समितिले संचालनमा ल्याएको बोलबम बहुउदेश्यीय सहकारी संस्थाले नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । संस्थाको पहिलो बार्षिक साधरणसभाले अनुमोदन गरेर अब देखि नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने भएको हो ।

सहकारी नाफामुखी भइरहेका बेला यो सहकारीले भने हरेक आर्थिक बर्षमा नाफाको ५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने गरी कोष खडा गरेको छ । यही जेठ महिनाबाट कारोवार शुरु गरेको सहकारीले छोटो समयमा सहकारीको सात सिद्धान्त मध्ये एक सिद्धान्तलाई मेल खानेगरी राम्रो कामको शुरुवात गरेको छ ।

मृगौला पिडित, आगालागी पिडित, बाढी पहिरो पिडित, गरिब जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको बोलबम समितिले अब संस्थागत रुपले नै समाजिक कार्यमा पनि सहकारीको सहभागिता होस भन्ने उदेश्यले यो अभियानको थालनी गरेको सहकारीका अध्यक्ष दिपेन्द्र तिवारीले बताउनुभयो ।

संस्थाको चलायमान अवस्था हेरेर आवश्यकता परेमा ५ प्रतिशत भन्दा माथी बढाउने पनि छौ अध्यक्ष तिवारीले भन्नुभयो,“सहकारीको पनि समाजिक कार्यमा सेवा गर्ने उत्तरदायीत्व हुन्छ ।” शेयर सदस्यलाई नाफा मात्रै बाड्ने भन्दा पनि समाजिक कार्यमा पनि लाग्नु आवश्यक रहेको तिवारीले बताउनुभयो । विधानमै राखेर नाफाको ५ प्रतिशत कोष खडा गर्ने स्याङ्जामा यो पहिलो सहकारी रहेको बताइएको छ ।

१ करोड १३ लाख १४ हजार शेयर पुजी, २ करोड ३७ लाख, ६६ हजार निक्षेप र २ करोड ९७ लाख कर्जा लगानी गरेको सहकारीले छोटो समयमा करिव ९ लाख नाफा गर्न सफल भएको छ । सहकारीको नीति र सिद्धान्त अन्तर्गत यो सहकारीले राम्रो कामको थालनी गरेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

सबै सहकारीले यो सहकारीबाट सिक्नु आवश्यक रहेको उदाहरण दिदै उपप्रमुख तिवारीले सहकारी नाफामुखी भन्दा पनि सेवामुखी हुनु आवश्यक छ भन्नुभयो । बहुउदेश्य सहकारी भएकाले सस्तो पसल पनि छिट्टै संचालनमा ल्याउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्