पार्टीभित्रको विवाद अन्त्य हुनुपर्छ



काठमाडौं, (नेस)।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो विवादलाई लिएर कांग्रेसका वरिष्ठ नेता नरहरि आर्चायको निवासमा छलफल भएको छ। पार्टीभित्रको विवाद समाधानकालागि तेस्रो पक्षले भूमिका खेल्नुपर्ने छलफलमा सहभागी नेताहरूले बताएका थिए।

पार्टीभित्र क्रियाशील सदस्यता वितरणको विषय नै विवादको मूल जड रहेकाले त्यस्ता समस्या समाधानमा नेताहरू ध्यान दिनुपर्नेमा सहभागीहरूको जोड दिएका थिए। पार्टीको महाधिवेशनको मिति घोषणा गर्दा सबैले स्वीकार गर्न सक्ने खालको समय निर्धारण गर्न संस्थापन पक्ष चुकेको पनि सहभागीहरूले बताएका थिए।

प्रमुख प्रतिपक्षी नै विवादमा रुमलिएको कारण सत्तारुढ दल नेकपाभित्र सभामुखको विषयमा देखिएको विवादमा समेत पार्टी मुकदर्शक भएर बस्न बाध्य भएको नेताहरूले टिप्पणी गरेका थिए।

भेलामा सहभागी नेता रमेश लेखकले पार्टी सभापतिका लागि वरिष्ठ नेताहरूले चासो देखाउनु स्वभाविक भए पनि पार्टीलाई क्षती नहुने गरी विवाद समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो।

पार्टीभित्रको शक्ति बाडफाँड नहुँदा अहिले पार्टीभित्र गुटको राजनीतिले प्रसय पाएको छ। शक्ति बाडफाँड गर्ने हो भने पार्टीभित्रको विवाद समाधान हुने बताउनुभयो।

नेपाली कांग्रेसका महासमिति सदस्य राधुराम खड्काले पार्टीले तय गरेको विधान कार्यान्वयन हुने हो भने पार्टीभित्रको अहिलेको समस्या समाधान हुने दाबी गर्नुभयो।

महासमितिका अर्का सदस्य दामोदर खड्काले पार्टीभित्रको विवाद हामीजस्ता कार्यकर्तालाई हात्ती छामेजस्तो भएको बताउँदै पत्रपत्रिकामा छापिएको समाचारको आधारमा धारणा बनाउन नहुने बताउनुभयो।

अर्का महासमिति सदस्य हरिहर अधिकारीले पार्टीभित्र एकले अर्काको कुरा सुन्न नसक्ने अवस्था र्सिजना भएको कारण अहिले समस्या आएको बताउनुभयो। नेपाली कांग्रेस दैलेखका नेता एकेन्द्र पन्तले पार्टीभित्रको बिबादलाई कुण्ठाको संज्ञा दिनुभयो।

उहाँले पार्टीका नेताहरूमा चेत नखुलेसम्म यो समस्या समाधान नहुने बताउनुभयो। काठमाडांै कांग्रेसका नेता प्रभाकर पाण्डेले पार्टीभित्रको समूह स्थायी खालको भएको कारण यो समस्या आएको बताउनुभयो।

 

 

 

प्रतिक्रिया दिनुहोस्