नन्दीकेश्वर महादेव मन्दिरमा माघे संक्रान्तिका दिन अन्नदान मेला



नेपाल समाचारपत्र, भक्तपुर।

भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बुधबार बृहत अन्नदान मेला आयोजना हुने भएको छ।

नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिले नन्दीकेश्वर मन्दिर प्रांगणमा आयोजना गरेको पत्रकार सम्मेलन यसबारे जानकारी दिँदै समितिका उपाध्यक्ष श्रीराम ब्याञ्जूले यसवर्ष माघ १ गते १५औं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो।

मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा ठूलो टेवा पर्याउँदै आएको अन्नदान मेलामा विगतका वर्षमा स्थानीयले मात्रै सहभागिता जनाए पनि यस वर्षदेखि अन्नदान मेलामा सहभागिता जनाउन सबैमा उहाँले आह्वान गर्नुभएको छ।

अन्नदान मेलामा धान, चामल, गहँु, जौलगायतका अन्नहरूको साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो। नन्दीकेश्वरमा अन्नदान गर्दा पुण्य प्राप्त हुने र अन्नको उत्पादनमा कृषकलाई टेवा पुग्ने जनविश्वासका आधारमा पनि स्थानीयको सहभागिता एवं दान आउने गरेको समितिका उपाध्यक्ष ब्यञ्जूले बताउनुभयो।

पत्रकार सम्मेलनमा समितिले मन्दिर परिषरमा निर्माण भइरहेका र हुने भौतिक संरचनाहरू समेटिएको रु. ७ करोडको लागतको गुरुयोजनासमेत सार्वजनिक गरेको छ। मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजन पाटीलगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरेको हो।

जसमा मूल मन्दिर निर्माणका लागि रु. २ करोड ५९ लाख, बहुउदेश्यीय सामुदायीक भवन निर्माणका लागि रु. २ करोड ५० लाख, कलात्मक प्रवेशद्वार निर्माणका लागि रु. २८ लाख २५ हजार, भजन पार्टी एवं सत्तल निर्माणका लागि रु. ३९ लाख ६९ हजार, दाफा भजन घर निर्माणका लागि रुं ३५ लाख ५७ हजार, ढुंगा छपाइका लागि ४३ लाख ५४ हजारलगायत पार्क र अन्य संचरना निर्माण गर्ने गरी गुरुयोजना सार्वजनिक गरेको हो।

जसमा पुनर्निर्माण प्राधिकरणले रु. १ करोड बजेटमा पुरातत्व विभागमार्फत पुरातात्विक शैलीमा कलात्मक मन्दिर निर्माण गरिदिने भएको छ। गुरुयोजनाअनुसार थप बजेटसहित मन्दिर निर्माण सम्पन्न पुरातत्व विभागबाटै हुने अपेक्षा गरिएको समितिका अध्यक्ष तुलसीदाश कासुलाले बताउनुभयो।

त्यस्तै मन्दिरको पूर्वपट्टी बहुउदेश्यीय सामुदायिक भवन निर्माण कार्य शरू भई चार तलाको स्ट्रक्चर निर्माण गरी ढलान कार्य सम्पन्न गरी थप संरचना निर्माण भइरहेको छ। जसका लागि हालसम्म रु. १ करोड ६९ लाख खर्च भइसकेको छ।

३ नं. प्रदेश सरकार, सांसद कोष, सूर्यविनायक नगरपालिका, स्थानीय चन्दा दाताबाट प्राप्त उक्त रकम र जनश्रमदानमा भवन निर्माण भइरहेको समितिका उपाध्यक्ष ब्यञ्जूले जानकारी दिनुभयो।

बहुउदेश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भएपछि उक्त भवनमा मन्दिरका पुजारीको आवास गृह, विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य गर्ने स्थल, धार्मिक ग्रन्थहरू समेटिएका धार्मिक पुस्तकालय, ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालनलगायतका कार्यमा प्रयोगमा ल्याइने बताइएको छ।

पुरातत्व विभागले गरेको उत्खनन्का आधारमा परापूर्वकालमा यस क्षेत्रमा धार्मिक किल्ला नै खडा गरि भौतिक संरचनाको विकास भएको र उक्त संरचना कुनै कालखण्डमा प्राकृतिक प्रकोप तथा प्रलयबाट क्षति पुगेकाले भग्नावेशषमा परिणत भएको समितिका सदस्य मुकुन्द शर्माले बताउनुभयो।

भक्तपुरको प्रसिद्ध धार्मिक स्थलमध्ये एक मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १ सय ८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक संक्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनै पूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्री मेला, सकिमना पूर्णिमा मेला, शिवरात्री मेला लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्