बिरामीको मृत्युपछि अस्पताल ठप्प



जोरपाटीस्थित नेपाल मेडिकल कलेजका कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन्। डेलिभरीका क्रममा मृत्युको विषयलाई लिएर मृतकका आफन्तले अस्पतालमा तोडफोडसहित कर्मचारीलाई धम्की दिएको भन्दै कर्मचारी आइतबार १२ बजेदेखि ओपीडीलगायतका सेवा ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्।

अस्पतालमा कार्यरत कर्मचारीको आधिकारिक ट्रेड युनियन स्वतन्त्र कर्मचारी युनियनको आ≈वानमा कर्मचारीले अस्पतालको सेवा बहिष्कार गरेका हुन्। युनियनका सचिव उमेश कार्कीले विज्ञप्तिमार्फत सेवा बहिष्कारको जानकारी गराएका छन्।

प्रसूति सेवाका लागि अस्पताल ल्याइएकी भोजपुर षडानन्द नगरपालिकाकी २४ वर्षीया सुनिता राईको बिहीबार राति डेलिभरीका क्रममा मृत्यु भएको थियो। अस्पतलको लापरबाहीका कारण आफ्नो बिरामीको डेलिभरीका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सामान्य तोडफोडसहित प्रदर्शन गरेका थिए।

प्रहरी प्रशासनले स्थिति नियन्त्रणमा लिए पनि आफन्तले लास उठाउन मानेका छैनन् भने अस्पताल प्रशासन सम्पर्कमा आउन चाहिरहेको छैन।

डेलिभरी गराउने क्रममा भ्याकुम लगाउँदा आमाको पाठेघरसमेत चुँडिएर मृत्यु भएको आफन्तको भनाइ छ। नवजात शिशुको भने अवस्था सामान्य रहेको बताइएको छ।

शनिबार तोडफोडमा उत्रिएका बिरामीका आफन्त आइबार भने अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग आफन्तको छ।

यसैबीच मृतकका आफन्तबाट कर्मचारीमाथि धम्की आइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा बहिष्कार गरेका हुन्। कर्मचारीको सेवा बहिष्कारका कारण सयौं बिरामी कठिनाइ झेल्न बाध्य भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्