राजधानीको भोलिपल्टै भौतिक संरचनाको चटारो



हेटौंडा, (नेस)।
प्रदेश–३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा तोकिएको भोलिपल्ट सोमबारदेखि प्रदेशसभा र प्रदेश सरकारका स्थायी संरचना बनाउने तयारी थालिएको छ। प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय, प्रदेशसभा, मन्त्रालयहरु, मन्त्रालय अन्तर्गत् निर्देशनालयहरुको स्थायी संरचना निर्माणको हतारो उत्तिकै बढेको हो।

स्थायी राजधानी तोकिएपछि प्रदेश सरकारका स्थायी संरचना निर्माणमा बाटो खुलेको हो।हेटौंडामा भएका संरचनामा साँघुरा रहे पनि अब भने मन्त्रालयका भवन निर्माण गर्ने तयारी गर्न थालिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताउनुभयो।

पहिलेकै संरचनामा बसेकाले केही मन्त्रालयमा वर्षामा पानी चुहिने, साँघुरा कोठा, भवन अभावका समस्या छन्। त्यस्ता समस्या हुन नदिन अब बजेट सुनिश्चितता गरेर काम थालिने उहाँले बताउनुभयो।
सकेसम्म हाल भइरहेका जग्गा र संरचना उपयोग गर्ने गरी अन्य स्थायी संरचना निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री ढुंगेलले जनाउनुभयो।

हाल भइरहेका मन्त्रालयमा आर्थिक मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, कृषि मन्त्रालय लगायतमा कर्मचारीलाई काम गर्दा साँघुरो महसुस भएको छ। अस्थायी मानसिकताका कारण दुई वर्षसम्म प्रदेश सरकारले आफ्ना लागि स्थायी संरचना खासै निर्माण गरेन।
पहिले भइरहेका संरचनामा नै सरकारले आफ्ना मन्त्रालय, निर्देशनालय र जिल्लास्थित कार्यालय बनाएर सेवाप्रवाह गर्दै आएको छ। प्रदेशको स्थायी राजधानी तय भएपछि खुसी भएको हेटौंडा उपमहानगरपालिका प्रदेश सरकारका मन्त्रालय र विभिन्न निर्देशनालयलगायत संरचना निर्माणका लागि उपमहानगरमातहतका जग्गा उपलब्ध गराउन तयारी अवस्थामा छ।
प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा भवनलगायत हेटौंडा–९ को लामसुरेमा रहेको हेटौंडा सिमेन्टको जग्गा र हेटौंडा–५ मा रहेको मत्स्य विकास केन्द्रको जग्गामा राखिने भएको छ।

प्रदेश सरकारले निर्णय गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि हेटौंडा–१०, टीसीएनको खालि जग्गा र हेटौंडा–११ को थानाभर्याङमा रहेको १२ बिगाहा जग्गा उपलब्ध गराइने र हेटौंडामै बन्ने महत्वपूर्ण प्रतिष्ठानका लागि हेटौंडाको मुटुमा रहेका जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको मेयर हरिबहादुर महतले स्पष्ट पार्नुभयो।

एकीकृत वस्ती विकासका लागि हेटौंडा–८ को नगर विकास समितिको जग्गा ५ बिगाहा, हेटौंडा–१३ को बनस्पति, हेटौंडा–१५ को फायर लाइनरोडको जग्गा उपलब्ध गराउन लागिएको छ।

प्रतिक्रिया दिनुहोस्