स्ववियु निर्वाचनका लागि पत्राचार



नेपाल समाचारपत्र, काठमाडौं।
त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई स्वतन्त्र विश्वविद्यालय(स्ववियु) निर्वाचन तयारी गर्न पत्राचार गरेको छ। त्रिविको विद्यार्थी तथा खेलकुद निर्देशनालयले हिजो सोमबार पत्राचार गरी निर्वाचन तयारी थाल्न निर्देशन दिएको हो।

त्रिवि कार्यकारी परिषद्को यही २२ गतेको बैठकले फागुन १४ गते निर्वाचन गर्ने निर्णय गर्दै सबै क्याम्पसलाई निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको हो। निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले निर्वाचनको प्रकृया शुरू गर्न निर्देशन दिएको जानकारी गराउनुभयो।

त्रिविको कार्यकारीको बैठकले निमित्त रजिस्ट्रार प्राडा. शिवलाल भुषालको  अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ। समितिले विभिन्न विद्यार्थी संगठनसंग छलफल गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन गर्ने तयारी गरेको छ।

यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकोले अब फागुन १४ गते नै गर्नुपर्ने बाध्य भएको छ।

 निर्देशक थापामगरले भन्नुभयो– ‘यही फागुन १३ गते म्याद २०७३ साल फागुन १८ गतेबाट निर्वाचित पदाधिकारीको म्याद सकिएलगत्तै स्ववियु खालि हुने भएकाले फागुन १४ मै निर्वाचन गर्ने तयारी भइरहेको हो। त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको छ।

२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो। तीमध्ये प्रदर्शनीमार्गको रत्नराज्य, पकनाजोलको पिपुल्स र टिकापुरको कैलाली बहुमुखी क्याम्पसमा चैतमा निर्वाचन भएको थियो।

‘अब ६१ आंगिकसहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेछ। २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी २४ आंगिक क्याम्पसमा मतदान सम्पन्न गरेको थियो। त्यसबेला त्रिविले पहिलो पटक २८ वर्ष उमेरहद कायम गरी निर्वाचन गरेको थियो।

उमेर हदको विवाद भएपछि उपत्यकाका केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। यो वर्षको निर्वाचनमा २८ वर्ष उमेर हद बनाएर निर्वाचन गर्नेछ।

त्रिविले तयार गरेको प्रारम्भिक कार्यतालिका अनुसार फागुन १ गते मतदाता सूची प्रकाशित गर्ने, २ गते दाबी विरोधको छानवीन गरी अन्तिम नामावली प्रकाशन गर्ने,४ गते प्रत्यक्ष र समानुपातिक तर्फको मनोनयन पत्र वितरण गर्ने, ५ गते नामावली दाखिला गर्ने, ५ गते प्रत्यक्षतर्फको नामावली प्रकाशित गर्ने, ६ दाबी विरोधसहित अन्तिम समय दिने, ७ गते उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सोसंगै १४ गते निर्वाचन गर्ने गरी प्रारम्भिक कार्यतालिकाको विषयमा छलफल गरेको छ।

प्रतिक्रिया दिनुहोस्