थाई सरकारविरुद्धको दौडमा हजारौं सहभागी



बैंकक, (एजेन्सी)।

थप राजनीतिक स्वतन्त्रताको माग गर्दै सेना समर्थित सरकारको विरोधमा थाइल्यान्डमा आयोजित पार्क दौड कार्यक्रममा हजारौं व्यक्तिले सशभागिता जनाएका छन्। राजधानी बैंककमा आयोजित तानाशाहविरद्धको दौडमा भाग लिन कम्तीमा १० हजार व्यक्तिले नाम दर्ता गरेका थिए।

तर पूर्वसैनिक शासक प्रधानमन्त्री प्रायुथ चान ओचालाई समर्थन गर्न अर्को बैंकक पार्कमा आयोजित यस्तै प्रकारको कार्यक्रममा करिब ३ हजार व्यक्तिले आफ्ना नाम लेखाएका थिए। पूर्वसैनिक शासक प्रायुथ गत वर्षको चुनावमा निर्वाचित भएर प्रधानमनत्री बनेका थिए।

वर्षौंदेखि थाइल्यान्डमा राजनीतिक अस्थिरता रहेको छ। सेना सर्मिर्थत र पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा समर्थित समूहबीच भीडन्त हुँदै आएको छ। थाइल्यान्डमा राजनीतिमा सेनाले हस्तक्षेप गर्ने लामो इतिहास रहेको छ।

सन् १९३२ मा सम्पूर्ण अधिकार समपन्न राजतन्त्रको अन्त्य यता सेनाले १२ पटक थाइ सत्ता कब्जा गरिसकेको छ। अवकाश प्राप्त जनरल प्रायुथको नेतृत्वकमा सन् २०१४ मा थाक्सिनकी बहिनी यिंगलकलाई पदच्युत गर्न सैनिक विद्रोह भएको थियो।

बैंककमा दौडको क्रममा प्रदर्शनकारीले, ‘ प्रायुथ सत्ता छोड ’ र ‘ प्रजातन्त्र अमर रहुन्’ जस्ता नारा लगाएका थिए। यसलाई अहिलेसम्मकै प्रायुथविरुद्धको सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ। प्रायुथ उनका समर्थकहरू माझ अंकल टुको उपनामले पनि चिनिन्छन्।

आइतबारको कार्यक्रमका आयोजक तानावात वोङचाइले अन्तर्राष्ट्रिय समाचार निकायलाई भनेका छन्– ‘ हामी हाम्रा जनता सडकमा आएर आफ्नो हक र अधिकारका लागि आवाज उठाउन भन्ने चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्