इरान–अमेरिका तनाव : क्षेप्यास्त्र हमलामा सैनिक हताहत नभएकोमा ट्रम्प खुसी



वासिङटन/तेहरान, (एजेन्सी)।

इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानद्वारा क्षेप्यास्त्र हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा गरेको सम्बोधन इरान, जनरल सुलेमानी, परमाणु सम्झौताका विषयमा केन्द्रित रह्यो।

सम्बोधनमा ट्रम्पले इरानी क्षेप्यास्त्र हमलामा कुनै पनि अमेरिकी सैनिक वा इराकी सैनिकको मृत्यु नभएको र घाइते नभएको बताउँदै सैन्य अड्डामा सामान्य क्षति पुगेको बताए।

इरानमाथि अमेरिकाको कडा प्रतिबन्द लगाइएको उल्लेख गर्दै आफू अमेरिकाको राष्ट्रपति रहेसम्म इरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने ट्रम्पले बताए। साथै बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनलाई पनि सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन ट्रम्पले आग्रह गरे।

इरानलाई सम्बोधन गर्दै ट्रम्पले भने– इरानले आफ्नो परमाणु इच्छा र आतंकवादीका लागि समर्थन अन्त्य गर्नुपर्नेछ। अमेरिका मध्यपूर्वमा तेलको पछाडि नभएको बताउँदै त्यहाँको तेलमा भर नपर्न आग्रह गरे। उनले भने– अमेरिका आफैं विश्वमा सबैभन्दा धेरै तेल उत्पादन गर्ने मुलुक हो, अमेरिका आर्थिक र सैन्य शक्तीका रूपमा स्थिर छ।

ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई अस्विकार गर्दै भने– अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ती हो तर यसको अर्थ हामी त्यसको प्रयोग गर्ने भन्ने होइन। हामी यसको प्रयोग गर्न चाहँदैनौ।अमेरिकी हमलामा मारिएका इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीका बारेमा ट्रम्पले भने– सुलेमानीले हिज्बुल्लाह सहित आतंककारीहरुलाई प्रशिक्षण दिए, क्षेत्रमा गृह युद्ध गराए, अमेरिकी दुतावासमा हमला गराए।

उ अमेरिकी विरुद्ध नयाँ हमलाको तयारी गरिरहेका थिए। हामीले उनलाई रोक्यौं। उनलाई पहिल्यै मार्नु पथ्र्यो। इरानले आफनो ब्यवहार परिवर्तन नगरेसम्म उ विरुद्धको कडा प्रतिबन्द जारी रहने ट्रम्पले बताए।

अमेरिकी सैन्य अखडामा भएको हमलामा कुनै अमेरिकी नमारिएको बताउन पाउँदा आफुलाई अत्यन्त खुसी लागेको उनले बताए। इराकमा हाम्रा सबै सैनिक सुरक्षित छन्।

इरानले अमेरिकी सैनिक मार्न चाहेन

इरानी सैन्य कमान्डर सुलेमानीको अमेरिकी हवाइ हमलामा मृत्यु भएको बदला लिन इरानले इराकस्थित दुई अमेरिकी अखडामा करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेका थिए। उक्त हमलामा कुनै पनि अमेरिकी सैनिकको मृत्यु भएन।

यस घटनालाई इरानले जानीजानी यस्तो प्रकृतिको हमला गरेको अनुमान गर्न थालेको छ। इरानले आक्रमणमा कुनै अमेरिकी सैनिक हताहत होस् भन्ने नचाहेको केही विश्लेषकहरुले बताएका छन्।

अमेरिकी र युरोपका सरकारी सूत्रले रोयटर्स समाचार एजेन्सीलाई इरानले कुनै अमेरिकी सैनिकको मृत्यु नहुने सुनिश्चित गरी सुनियोजित तरिकाले आक्रमण गरेको उनीहरुको विश्वास रहेको बताए।

इरानले विद्यमान संकट नियन्त्रणबाट बाहिर जाओस् भन्ने नचाहेको र इरानको क्षमता पनि थाहा होस् भन्ने देखाउन चाहेको उनीहरुले बताए।इरानले सुनियोजित रूपमै कुनै क्षति नहुने निसाना चयन गरेको अमेरिकी रक्षा मन्त्रालयका एक सूत्रले सीएनएनलाई बताए।

भू–उपग्रह तस्वीरबाट अमेरिकी सैन्य अखडाहरुमा कयौं भवनलाई क्षति पुगेको प्रष्ट देखिएकोले कसैको ज्यान नजानु एक प्रकारले काकताली मात्र पनि हुन सक्ने बीबीसीका सम्वाददाता जोनाथन मार्कसले बताए।

प्रतिक्रिया दिनुहोस्