सुनको मूल्यमा वृद्धि, रच्यो नयाँ इतिहास



Gold bars

परिवर्तन देवकोटा, काठमाडौं।

पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा निरन्तर वृद्धि हुँदै गइरहेको छ। विगत केही दिनदेखि हरेक दिन सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भइरहेको छ।साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ। यसदिन सुन प्रतितोला ७५ हजार ५ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार कायम भएको सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि ७५ हजार ५ सय रुपियाँमा सुन कहिल्यै कारोबार नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले नेपाल समाचारपत्रसँग बताउनुभयो। उहाँले भन्नुभयो, ‘सुनको भाउले त नयाँ–नयाँ इतिहास बनाउँदै गएको छ, आजको मूल्यमा त अहिलेसम्म कारोबार भएकै थिएन।’

गत शुक्रबार पनि सुनको मुल्य बढेर नयाँ रेकर्ड कायम गरेको थियो। गत शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो।गत वर्षको सोही समयमा छापावाल सुन प्रतितोला ५८ हजारदेखि ६० हजार रुपियाँको हाराहारीमा कारोबार भएको थियो। तर अहिले यो दर बढ्न गई प्रतितोला ७५ हजार ५ सय रुपियाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आर्थिक वर्षको पुष २० गते छापावाल सुन प्रतितोला ६० हजार ३ सय रुपियाँमा कारोबार भएको थियो। यो मूल्यको तुलनामा अहिले सुन प्रतितोला १५ हजार २ सय रुपियाँ वृद्धि भएको छ।

महासंघका अनुसार आइतवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपियाँमा कारोबार भएको छ। शुक्रवार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपियाँमा कारोबार भएको थियो।यस दिन चाँदी प्रतितोला ९ सय रुपियाँमा कारोबार भइरहेको छ। शुक्रवार चाँदी प्रतितोला ९ सय रुपियाँमा कारोबार भएको थियो।

गत वर्षको जस्तो अहिले सुन व्यापार नभएको व्यवसायी शाक्यले बताउनुभयो। यस वर्ष गत वर्षको तुलनामा सुनको व्यवसाय सुस्ताएको छ। जसका कारण सुन व्यवसायीहरू चिन्तित बनेका छन्।व्यवसायी शाक्यका अनुसार, यस आर्थिक वर्षमा सुनको कारोबार धिमा गतिमा अघि बढिरहेको छ।

‘सामान्यतया पुष १५ पछि सुनको कारोबार फस्टाउनुपर्ने हो, तर मूल्य वृद्धिका कारण झनै बजार खस्कँदै गएको छ,’ उहाँले भन्नुभयो।मंसिरमा बिवाहको समय हुने भएकाले कारोबार बढ्नुपर्ने हो। तर यस वर्ष सुनको कारोबार खासै नभएको सुन व्यवसायीहरू बताउँछन्। माघमा पनि विवाहको सिजन हुन्छ। त्यसका लागि पनि नेपालीहरूले सुनका गरगहना बनाउँछन्।

व्यवसायी शाक्यका अनुसार, पुष १५ पछि बजारमा सुन किन्नेको भीड हुनुपर्नेमा अहिले त पसल नै बन्न गर्नुपर्ने अवस्था आउला जस्तो देखिन्छ। उहाँले भन्नुभयो, ‘सुनको भाउ यही तरिकाले बढ्दै गएमा केही समयमै व्यवसाय चौपट नहोला भन्न सकिन्न।’

किन बढ्यो सुनको भाउ ?

विश्व अर्थतन्त्रका मुख्य हिस्सेदार मुलुकहरूबीचको आन्तरिक द्वन्दको प्रत्यक्ष असर सुन बजारमा परेको छ। केही समयअघि देखि जारी अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको मूल्यमा वृद्धि हुन पुगेको सुन व्यवसायी शाक्यको भनाइ छ।

उहाँका अनुसार, अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर हुँदा पनि सुनको भाउ बढ्न जान्छ। यस्तै अहिले इरान र अमेरिकाबीच जारी तनावका कारण पनि सुन बजारमा समस्या आएको हो।
अमेरिका र चीनबीच जनवरी १५ मा व्यापार वार्ता हुँदैछ। यस वार्तापछि सुन व्यवसायमा केही खुशी देखा पर्ने उहाँको अनुमान छ।

नक्कली सुनले बजार पायो

सुनको मूल्यमा अचाक्ली वृद्धि भएसँगै नक्कली सुनको कारोबार बढेको छ। उपत्यकाको न्यूरोड, मंगलबजार लगायतका विभिन्न बजारहरूमा नक्कली सुन बेच्ने पसलहरू धमाधम देखिन्छन्। यसरी सक्कली सुनका गरगहनाको साटो नक्कली सुन प्रयोग गर्दा स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने सुन व्यवसायीहरू बताउँछन्

। नक्कली सुनमा मिसाइएको सुनले छालामा असर गर्ने बताउँदै त्यसलाई रोक्न सम्बन्धित निकाय लाग्नुपर्ने सुन व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्